काठमाण्डौ । हाल करार कानून अनुसार संचालनमा रहेका कमोडिटी एक्सचेञ्जहरु वस्तु विनिमय बजार सम्बन्धी ऐन अनुसार दर्ताको लागि धितोपत्र बोर्डमा नगए स्वतः अबैध हुने भएका छन् । 
 
वस्तु विनिमय बजार सम्बन्धी ऐन गत भदौ ११ गतेदेखि लागूू भएको थियो । ऐनको कार्यान्वयनका लागि ऐन प्रमाणीकरण भएको ९१ औं दिन अर्थात मिति २०७४ मंसिर ०९ गतेदेखि नेपाल सरकारको स्वीकृतिमा धितोपत्र बोर्डले बस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ लागूू गरेपछि हाल संचालनमा रहेका कमोडिटी एक्सचेञ्जहरुले समेत नयाँले झै दर्ताको प्रक्रिया पूरा गर्नुपर्ने भएको हो । 
 
अहिलेको नियमावलीले हाल संचालनमा रहेका कमोडिटी एक्सचेञ्जहरुको अस्तित्व स्वीकार्दैन । धितोपत्र बोर्डमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता निरज गिरीले भने–‘उनीहरुले पनि अब नियमावलीअनुसार दर्ताका लागि आउनुपर्छ, त्यसबेलासम्म अब उनीहरुले एक्सचेञ्जको रुपमा कुनै कारोबार गर्न वा काम गर्न पाउने छैनन् ।’ 
 
करार ऐन अनुसार हाल नेपालमा ३ वटा कमोडिटी एक्सचेञ्जहरु संचालनमा रहेका बताउने गरिएको छ । अब यी एक्सचेञ्जहरुले समेत धितोपत्र बोर्डले तोकेको मापदण्ड पूरा गर्नुपर्ने भएको छ । बोर्डले वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी रु. ५० करोड, वेयर हाउसको रु. १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको रु. ७ करोड, लगानी व्यवस्थापकको रु. ५ करोड, लगानी परामर्शदाताको रु. १ करोड तथा वस्तु कारोवार दलालको रु. ५० लाख हुनुपर्ने तोकेको छ । 
 
यस्तै, वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापना गर्नुअघि संभाव्यता अध्ययन प्रतिवेदन, लगानीको स्रोत, सेयर स्वामित्व सम्बन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि व्यवस्था लगायतका विवरण सहित बोर्डबाट पूर्व स्वीकृतिको लागि निवेदन पेश गर्नुपर्नेछ । त्यसपश्चात अनुमति प्रदान गर्ने र अनुमतिप्राप्त गरेको १ सय ८० दिनभित्र न्यूनतम पूर्वाधार तयार गर्नुपर्नेछ ।
 
बोर्डले वस्तु विनिमय बजार व्यवस्थित गराउने उद्देश्यले केही बाध्यकारी व्यवस्था समेत गरेको छ । ती व्यवस्था हेरौं बुँदागत रुपमा:
  • कसैले पनि वस्तु विनिमय वजारको कूल शेयर पूंजीको ५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने,
  • वस्तु विनिमय बजारको अनुमति लिएको तीन बर्षसम्म शेयर बिक्री गर्न नपाईने र त्यसपश्चात शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्व स्वीकृति लिनुपर्ने,
  • ऐन तथा नियमावलीले तोकेको योग्यता पूरा गरेको व्यक्ति वा संस्थाले मात्र शेयर स्वामित्व लिनसक्ने,
  • विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने । त्यस्तो स्वामित्व ग्रहण गर्ने विदेशी रणनीतिक साझेदार वस्तु विनिमय बजार सम्बन्धी व्यवसाय संचालन गरेको न्यूनतम तीन वर्षको अनुभव हुनुपर्ने ।
  • कारोवारपूर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने,
  • वस्तु विनिमय बजारले कारोबार शुरु गरेको वा स्थगन गरेको जानकारी लगानीकर्तालाई दिनुपर्ने,
  • बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी  स्वचालित कारोबार प्रणाली स्थापना गर्नुपर्नेे, 
  • व्यवसायीले ग्राहकको स्पष्ट पहिचान हुने विवरण (KYC)सहितको अभिलेख राख्नु पर्ने, 
  • अनुमतिपत्र प्राप्त संस्थाले बार्षिक, अर्धबार्षिक तथा त्रैमासिक रुपमा विवरण पेश गर्नुपर्ने,
  • बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन गर्ने, 
  • वस्तु विनिमय बजारले लगानीकर्ता संरक्षण कोष र सेटलमेन्ट ग्यारेन्ट फण्ड स्थापना गर्नुपर्ने व्यवस्था रहेको,
  • ऐन, नियमावली तथा वोर्डले दिएको निर्देशन पालना नगरेमा कारोवार रोक, अनुमतिपत्र निलम्वन, खारेजी, विगो बमोजिम वा रु १० लाखसम्म जरिवाना वा ५ वर्ष सम्म कैद हुन सक्ने ।
कमोडिटी एक्सचेञ्जमा कारोबार गर्न सकिने वस्तुहरुको प्रारम्भिक सूचि समेत बोर्डले सार्वजनिक गरेको छ । सूचि यस्तो छ:
(क) कृषिजन्य उत्पादन: कपास, अलैंची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुल तथा सोबाट निर्मित जुस ।
(ख) धातुजन्य वस्तुः आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक ।
(ग) बहुमूल्य धातुः सुन, चाँदी, प्लाटिनम ।
(घ) खनिज तैलजन्य वस्तु:कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिड्डआयल ।
(ङ) तेल: नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल।
(च) अन्य : चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी ।