काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले आफ्ना घोषित आन्दोलनका सबै कार्यक्रम स्थगन गरी छापामार शैलीका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । 

आइतबार बिहान जाउलाखेलस्थित धितोपत्र बोर्डमा सरप्राइज तालाबन्दी गरेको यो समूहले प्रहरीले बल प्रयोग गरी ताला फुटाएपछि आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो । 

'सरकार दमनमा उत्रिएको अवस्थालाई विचार गरी हामीले घोषित आन्दोलनका कार्यक्रमलाई रणनीतिक रुपमा बदली अब कार्यक्रम सम्पन्न भएपछि मात्र उद्घोष गर्ने नीति अख्तियार गरेका छौ ।' दवाब समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'हाम्रो अभियान अरु कडा र सशक्त भएर अगाडि बढ्नेछ ।'

दवाब समूहले बोर्डमा गरिएको तालाबन्दी र शान्तिपूर्ण धर्नामाथि सरकारले दमन गरेको आरोप समेत लगाएको छ ।

अध्यक्ष हरि ढकालले जारी गरेको विज्ञप्तिमा तालाबन्दी जारी रहेको अवस्थामा दिउँसो १ बजे धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्की र कार्यकारी निर्देशक निरज गिरी लगायतका अधिकारीको उक्साहटमा प्रहरीले दमन गरी ताला फोरेको दाबी गरिएको छ । 

पूँजीबजार र आम सर्वसाधारण लगानीकर्ताको हित विपरीत कुटिल षड्यन्त्र गर्नेहरुको एक एक हिसाब लगानीकर्ताले चुक्ता गर्ने नै छन् । चेतावनीको शैलीमा विज्ञप्तिमा भनिएको छ । 

अर्थमन्त्रीबाट गठित अध्ययन कार्यदलले दिएको ५८ वटा बुँदाको अक्षरंश कार्यान्वयनका लागि नियामक निकाय नतात्नु र यसप्रति अर्थ मन्त्रालयले चासो नदिनुले अर्थका अधिकारी समेत लगानीकर्ताविरोधी षड्यन्त्रमा लागेका पुष्टि हुने दाबी समेत गरिएको छ ।