-भक्तराज रसाइली
काठमाण्डौ । चैत १० गते नेपाल धितोपत्र बोर्डमा गरिएको शान्तिपूर्ण तालाबन्दीमा सरकारले दमन गरेको भन्दै त्यसको प्रतिबादस्वरुप सेयर लगानीकर्ता दवाब समूहले सोमबारदेखि कालो बेलुन उडाएर नेप्से गेटमा अनिश्चितकालीन रिले अनशन थालेको छ ।

पूँजीबजार सुधार र बिस्तारका साथै लगानीकर्ताहरुको लगानी सुरक्षाको माग गर्दै दुई महिनाअघि अर्थ मन्त्रालयलगायतका नियमनकारी निकायहरुमा पेश गरिएको ३२ बुँदे माग पूरा नभएको भन्दै यो समूह आन्दोलनमा छ । 

यसअघि यो समूहले सिंहदरबार क्षेत्रमा विरोध स्वरुप कालो बेलुन उडाउने बताएको थियो । तर, आइतबारदेखि आफ्ना पूर्व निर्धारित कार्यक्रमहरु परिवर्तन गर्न थालेको समूहले छापामार शैलीमा कार्यक्रम गरेपछि मात्र जानकारी दिने रणनीति अपनाइने प्रष्ट पारेको थियो । सोही रणनीति अनुसार सिंहदरबारलाई छाडेर नेप्सेको कार्यालय अगाडि गाएर कालो बेलुन उडाइएको समूहका महासचिव नयन बास्तोलाले जानकारी दिए ।

नेपाल स्टक एक्सचेन्जको कार्यालय सिंहदरबार हाता अगाडि लगानीकर्ताहरुको सहभागितामा रिले अनशन सुरु भएको उनको भनाई छ । ‘हाम्रा ३२ बुँदे माग पूरा नभएसम्म हाम्रो अनिश्चितकालीन रिले अनशन जारी रहने छ र परिस्थिति अनुरुप आन्दोलन सशक्त हुँदै जानेछ ।’ बास्तोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।