काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहको आह्वानलाई स्वीकार गर्दै लगानीकर्ताहरुले खरीद तथा बिक्रीको अर्डर पोष्ट नगरेपछि हालसम्म कुनै पनि सेयर कारोबार भएको छैन । 

सेयर लगानीकर्ता दवाब समूहले आइतबार आफूहरुलाई वार्तामा बोलाएर सरकारले धोका दिएको भन्दै लगानीकर्ताको माग पूरा गराउन सोमबारदेखि आमरण अनसन थाल्ने उल्लेख गर्दै लगानीकर्ताहरुले समेत कुनै कारोबार नगरिदिन आह्वान गरेको थियो । 

उनीहरुको आह्वानलाई स्वीकार गर्दै साढे ११ बजेसम्म नेप्सेको सिस्टममा कुनै पनि अर्डर पोस्ट भएको छैन । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले खरीद तथा बिक्रीको अर्डर पोष्ट नभएका कारण बजारको हिजोकै अवस्था डिस्प्ले भएको प्रष्ट पारेका छन् । 

आमरण अनसनमा उत्रिएका लगानीकर्ताहरुले हिजो ब्रोकरहरुलाई समेत फोन गरेर आफ्नो आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेका स्रोत बताउँछ । ब्रोकरहरुले समेत लगानीकर्ताको आन्दोलनलाई मौन समर्थन गरिदिएका स्रोतको दाबी छ । 

स्मरणरहोस्, नेपालका सेयर लगानीकर्ताले पूँजीबजारको बिषयलाई लिएर आमरण अनसन थालेको यो पहिलो घटना हो भने अनलाइन प्रणालीको कार्यान्वयनपछि सेयर बजारमा भएको यो पहिलो हड्ताल समेत हो ।