काठमाण्डौ । पूँजीबजार विकास र बिस्तारका विभिन्न माग राख्दै सेयर लगानीकर्ताहरुको दवाब समूहले आमरण अनसन सुरु गरेकै दिन पनि बजारमा उछाल आएको छ । 

दवाब समूहले लगानीकर्ताहरुलाई कारोबार बहिस्कार गर्न भन्दै आह्वान गरे पनि लगानीकर्ताहरु त्यसप्रति विश्वस्त देखिएनन् । फलस्वरुप कारोबार सुरु भएको आधा घण्टा जति अलमलमा परेका लगानीकर्ताहरु एकाएक सक्रिय हुँदा नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । 

पूँजी तथा मुद्रा बजार सुधारका लागि गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको र आजै साँझसम्म आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने तथा प्रतिवेदनमा समेटिएका मुख्य माग पूरा हुने विश्वासमा लगानीकर्ताले खरिदारी बढाएका देखिन्छ । यसैको फलस्वरुप लगानीकर्ता दवाब समूहको आह्वान लत्याउँदै लगानीकर्ताहरुले कारोबारमा सक्रिय सहभागिता जनाएका छन्।

लगानीकर्ताको यो सहभागिताले अध्ययन समितिले समेटेका बुँदाहरु कार्यान्वयन हुनुपर्ने अवस्था देखिएको छ भने आन्दोलनमा उत्रिएको दवाब समूहमाथि चुनौति थपिदिएको छ । दवाब समूहले विगत केही दिनदेखि लगानीकर्ताका केही संगठनका नेतामाथि विज्ञप्तिमार्फत नै संगीन आरोप लगाउँदै आएकोले तिनै संगठनमा आबद्ध लगानीकर्ताले समेत कारोबारबाटै दवाब समूहलाई काउण्टर दिएका समेत देखिएको छ । 

यस्तै, दवाब समूहको आन्दोलनमा ब्रोकरहरुले समेत खुलेरै असहयोग गरिदिएका छन् । उनीहरुले लगानीकर्ताले आफूहरुलाई असहयोग गरेका भन्दै ‘आन्दोलनमा असहयोग गर्ने’ निश्कर्ष नै निकालेका थिए । मुख्य रुपमा आफ्नो भाग खोसिने र व्यवसाय नै चौपट हुने गरी बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरा लगानीकर्ताले उचालेका बुझेका ब्रोकरले समेत त्यसको रीस यसपटक पोखेका देखिएको छ । 

यिनै कारणले यो दिन नेप्से परिसूचक १५.१७ अंकले बढेर ११८२.७८ को विन्दूमा पुग्यो भने कारोबार रकम पनि ४२ करोड माथि पुगेको छ । 

यो दिन राम्रा कम्पनीको सेयरमा खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स २.९७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.१७ अंकको बढोत्तरी देखिएको छ । 

व्यापार समूहमा ३.०४ अंकको गिरावट देखिए पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । 

यो दिन बिमा कम्पनी र माइक्रोफाइनान्सको मूल्य उछालको गतिमा बढेको छ । निर्जीवन बिमा समूहको सूचक ४.२ प्रतिशत(२२०.५१ अंक)ले बढेको छ भने जीवन बिमा समूहको सूचक ३.७१प्रतिशत( १९५.९६ अंक) तथा माइक्रोफाइनान्स समूहको परिसूचक ३.०८ प्रतिशत(४०.२१ अंक)ले बढेका छन् । 

बंैकिङ समूह ९.१५ अंकले बढेको यो दिन विकास बैंक समूह ८.५ अंक, जलविद्युत समूह ५.३७ अंक, बित्त समूह ०.५२ अंक, उत्पादनमूलक २१.२१ अंक र अन्य समूह १.४४ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी 
यो दिन बजारमा १ सय ५९ कम्पनीका १२ लाख ६० हजार ५ सय १८ कित्ता सेयर ४२ करोड ३ लाख ५३ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन छिमेक लुघवित्तले सबैभन्दा बढी ४ करोड ८३ लाख बढीको कारोबार गर्यो। 

नेपाल बैंकले ४ करोड ३४ लाख बढीको कारोबार गरेको यो दिन ग्लोबल आइएमई बैंकको ३ करोड ५५ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ । 

एनएमबी बैंकले ३ करोड ७ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशियाले १ करोड २८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २४ लाख बढीको कारोबार गरेको छ । नवील बैंकको १ करोड २४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २२ लाख, कुमारी बैंकले १ करोड १७ लाख र एनसीसी बैंकले १ करोड ५ लाख बढीको कारोबार गरे। 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चार कम्पनीका लगानीकर्ता मालामाल भए । मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूर्णिमा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । आरम्भ माइक्रोफाइनान्सको मूल्य ९.२१ प्रतिशतले बढेको छ । 

यो दिन कालिका पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतको हाराहारीमा घटेको छ ।