काठमाण्डौ । दशकमै पहिलोपटक आयातको भन्दा निर्यातको वृद्धिदर उच्च देखिएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा यस्तो अवस्था देखिएको हो । 

नेपाल राष्ट्रबैंकका अनुसार यो अवधिमा आयातको वृद्धिदर १३.९ प्रतिशत र निर्यातको वृद्धिदर १९.४ प्रतिशत रहेको हो । 

अघिल्लो वर्ष पनि आयातको वृद्धिदर २५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.४ प्रतिशत मात्र थियो । 

आयातको भन्दा निर्यातको वृद्धिदर बढेको दशकमै पहिलोपटक रहेको विज्ञहरुले बताएका छन् । 

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कुल वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ११ करोड पुगेको छ । 

गन्तव्यका आधारमा भारततर्फ ३४.३ प्रतिशत र अन्य मुलुकतर्फ ०.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा १३.५ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा पाम आयल, पोलिष्टर यार्न, जुटका सामान, दाल, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, पश्मिना, जुत्ता तथा चप्पल, छाला लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०७५/७६ मा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर रु.१४१८ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २५.८ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२.८ प्रतिशत, चीनबाट भएको आयात २८.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८.९ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान,अन्य मेसिनरी पार्टपुर्जा, एम.एस. बिलेट लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लाष्टिक दाना लगायतका वस्तुहरुको आयात घटेको छ । 

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय वाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको निर्यातमा वृद्धि भएको छ । 

आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय वाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा कुल वस्तु व्यापार घाटा १३.५ प्रतिशतले विस्तार भई रु.१३२१ अर्ब ४३ करोड पुगेको छ । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात– आयात अनुपात ६.८ प्रतिशत छ । अघिल्लो वर्ष सो अनुपात ६.५ प्रतिशत रहेको थियो ।