काठमाण्डौ । दशैं विदाअघिको अन्तिम कारोबार दिनको बजार बलियो भएको छ । यो दिन सेयर बजारमा कारोबार रकम बढेको छ भने नेप्से परिसूचकमा झिनो मात्र गिरावट आएको छ । 

लगानीकर्ताहरु बैंकहरुको ब्याजदर घट्ने निश्कर्षसहित सेयर बजारमा चलमलाउँदा ३३ करोड बढीको कारोबार भएको छ । यो भनेको दशैंअघिको बजारका लागि सुखद अवस्था हो । 

यो दिन नेप्से परिसूचकमा भने ०.८ अंकको झिनो गिरावट मात्र देखियो । नेप्से परिसूचकको स्थिर अवस्थामा कारोबार रकम बढ्नु भनेको दशैंपछि बजारले बुलिस गति समात्दैछ भन्ने अधिकांश लगानीकर्तामा परेको छ । यहीकारणले समेत कारोबारमा लगानीकर्ताको उत्साह देखिएको हो । 

दशैं लगत्तै वाणिज्य बैंकहरुबीच लाभांश घोषणाको लहर चल्नेछ भने चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण समेत आउन थाल्नेछ । यो कारणले समेत दशैं लगत्तै बजार बढ्ने निश्कर्षसहित लगानीकर्ता केही सक्रिय भएका देखिएको छ । 

नेप्सेको पूर्व निर्धारित योजना यदि कुनै कारण र चलखेलले तुहिएन भने दशैंपछिदेखि अनलाइन कारोबार प्रणालीको कार्यान्वयन सुरु हुने केही संभावना पनि छ । यो कारणले समेत दशैंअघिको बजार थप बलियो देखिएको हो । 

यो दिन 'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१ अंकको गिरावट आएको छ । 

यो दिन ५ समूहको सूचक बढेको छ भने ५ समूहको सूचक घटेको छ । बैंकिंग समूह ०.४३ अंकले घटेको छ भने विकास बैंकको सूचक ५.२१, जलविद्युत समूह २.८९, माइक्रोफाइनान्स समूह १.१ र अन्य समूह ५.०९ ले अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका १४ लाख ६४ हजार ८ सय ९४ कित्ता सेयर ३३ करोड ५८ लाख ६५ हजार ५ सय २३ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन प्रभू बैंकले सबैभन्दा बढी २ करोड ५४ लाख बढीको कारोबार गरेको छ । यस्तै, मेगा बैंकले २ करोड २७ लाख, एनएमबी बैंकले २ करोड २३ लाख, एनआइसी एशियाले १ करोड ५९ लाख, माछापुच्छे बैंकले १ करोड ४४ लाख बढीको कारोबार गरे । 

यो दिन प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ४१ लाख बढीको संस्थापक सेयरको कारोबार भएको छ भने कुमारी बैंकले १ करोड ३६ लाख, जनता बैंकले १ करोड २६ लाख, सिद्धार्थ बैंकले ८९ लाख र सानिमा बैंकले ८७ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइबिएल समृद्धि फण्ड १ का इकाईधनीले धेरै कमाएका छन् । यो दिन यो स्किमको मूल्य ७.२६ प्रतिशतले बढेको छ । 

यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घटेको छ ।