-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल पूँजीबजार संघका अध्यक्ष  नवराज सुवेदी नेपाली सेयर बजारका लगानीकर्ता र बजारको हितका लागि भन्दै जुनसुकै परिस्थितिमा सक्रिय भइरहने एउटा नाम हो । सेयर लगानीकर्ता संघ जन्मिँदा महासचिव रहेका उनले त्यहाँ कुरा नमिलेपछि नेपाल पूँजीबजार लगानीकर्ता संघ खोले । तर, त्यहाँबाट समेत उनी बाहिरिए । त्यसपछि नेपाली पूँजीबजार संघ स्थापना गरेका उनले बजारको विकासका लागि आफ्नो सक्रियता देखाएका छन् । संघसंगठनमा नअडिए पनि नवराज सुवेदीको एउटै विशेषता भनेको लगानीकर्ताको हित र बजारको  विकासका लागि जहाँ बसे पनि उनी तत्कालै सक्रियता देखाइहाल्छन् । 

सेयर बजार संघसंगठनका गतिविधि भन्दा अलिक पृथक शिराबाट नेपाली पूँजीबजार विकासका एजेण्डालाई उठाउने अठोट लिएका सुवेदी आम लगानीकर्ताको हकहितका लागि अहोरात्र खटिएको पछिल्लो उनको सक्रियताले देखाउँछ ।

सुवेदीको व्यक्तिगत कमजोरी धेरै होलान्, तर सेयर बजारको हित तथा विकासको विषयमा स्पष्ट धारणा राख्नसक्ने, नियामक तथा बजार संचालकसँग टेबल ठोकेर कुरा गर्नसक्ने क्षमता उनीसँग छ । यहीकारण विगतमा भएका लगानीकर्ताको आन्दोलनमा उनको भाषणकला धेरैले मन पराउने गरेका थिए । 

सुवेदी पछिल्लो समय अनलाइनको मोक परीक्षणमा ब्रोकरले असहयोग गरेको कुरा नेप्सेका अधिकारीले व्यक्त गरेपछि त्यसलाई बाहिर ल्याई चर्चामा समेत छन् । नेप्सेका अधिकारीलाई भेटी तथा अन्य निकायसम्म पुगेर यथार्थ बुझेका उनलाई हामीले दशैंअघि अनलाइन प्रणाली कार्यान्वयनमा आउने संभावना कत्तिको देख्नुभएको छ ? भन्ने प्रश्न गरेका थियौं । उनले भने-'दशैंअघि आउने संभावना छैन, नेप्सेका अधिकारीहरुको कुरा अनुसार दशैंअघि यो संभव छैन र छिटोमा आयो भने पनि मंसिरसम्म पुग्ला जस्तो देखिन्छ ।' 

३० वर्षीय सुवेदी विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएकाले पनि यति ठूलो सेयर बजारमा पनि संघसंगठनको आवश्यकतालाई महसुस गरी सेयर लगानीकर्ता संघ जन्माउनेमध्येका एक संस्थापक समेत हुन् ।

दोलखा मकैबारी स्थायी निवासी सुवेदी विद्यार्थीकालदेखि नै सेयर बजारमा सक्रिय भएका थिए । हाल उनी व्यवस्थापन विषयका लेक्चरर पनि हुन्  र बाँकी समयमा सेयरमा लगानी गर्ने गरेको उनी बताउँछन्  । 

बैंक अफ एसियाको आईपीओबाट सुरुवात गरेका उनले दोश्रो बजारबाट सनराइज बैंक र माछापुच्छ्रे बैंकको सय सय कित्ता क्रमशः २२० र २५० मा किनेको सम्झन्छन् । ११ वर्षको सेयर बजारको अनुभव सङ्गालेका सुबेदीले सेयर लगानीकर्ता सङ्घमा महासचिवको भूमिका निर्वाह गरेका थिए ।

हाल पूँजीबजार संघमा आवद्ध भएर लगानीकर्ताको हकहित र व्यवसाय गरेर दिनचर्यामा बितेको नवराज सुबेदीले बताए । पछिल्लो समयमा अनलाइनका विषय उठाएर निक्कै चर्चामा आउनुभयो, खासमा के भइरहेको रहेछ ? भन्ने प्रश्नमा उनले भने-'वास्तविकता बुझ्न गएका थियौं ब्रोकरको डाटा सेन्टरमा केही ढिलासुस्तीले गर्दा काममा केही ढिलाई भइरहेको रहेछ । ब्रोकर साथीहरुले पनि पछिल्लो समय सक्रियता बढाउनुभएको छ ।' 

परीक्षणको क्रममा अनलाइन प्रणालीमा एकदमै समस्या आएको, खासै लाभान्वित हुन नसकेकोले समेत लगानीकर्ताले यसलाई महत्व नदिएका उनको बुझाई छ । उनले कार्यान्वयन निकट रहेको पूर्ण अनलाइन प्रणालीमा सक्दो सहयोग गर्न ब्रोकरहरुलाई समेत आग्रह गरे । 

पछिल्लो समयमा नेप्से मोक टेस्टिङ्गमा जान ब्रोकरले असहयोग गरेको कुरा यहाँहरुबाट बाहिर आयो नि ? भन्ने जिज्ञासामा उनले भने-'पपुलारिटीका लागि मात्रै संघसंगठन खुल्ने ट्रेन्डमा मेरो विरोध छ भने हामी बजार विस्तार र नियामकसँग लगानीकर्ताको विशुद्ध हकहितमा केन्द्रित रहेर आवाज बुलन्द गराइहेका छौ । भित्र जे यथार्थ छ, त्यसलाई बाहिर ल्याइरहेका छौ । यस्तो बेलामा लगानीकर्ता सचेत बन्नुको विकल्प छैन र सबै पक्षबाट खबरदारी गर्नुपर्छ ।' 

छिट्टै सार्वजनिक सुनुवाइको माध्यमबाट  सेबोन, नेप्से, सीडीएससी, नेपाल राष्ट्र बैंक, बैंकर एसोसिएसन, ब्रोकर एसोसिएसन, आम लगानीकर्ता र मिडियालाई राखेर बृहत् कार्यक्रम गर्ने तयारीमा लागेको समेत उनले खुलाए । पूँजीबजारमा खटकिएको पूर्वाधार अभाव र प्रबिधिमैत्री बनाउन संघ लागिपरेको उनको दाबी छ ।

बजार थप बलियो बनाउन नियामक निकायको पूरातनबादी सोच बदल्नुपर्नेमा उनको जोड छ । पूँजीबजारप्रतिको धारणा र दृष्टिकोणलाई बदल्दै सैद्धान्तिक रूपमा अलमलिएकालाई व्यवहारिकमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । 

लगानीकर्ता स्वयम्ले पनि समग्र अध्ययन गर्दै लागत र प्रतिफलको विश्लेषण गर्न, जोखिम व्यवस्थापन र समय व्यवस्थापन अनि पोर्ट्फोलियो व्यवस्थापनमा सजग भर्र्इ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव छ ।

सेयर बजारलाई विशेष क्षेत्र र अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा बुझ्न नियामक निकाय र सरकारका एजेन्सीहरुले समेत ढिला गर्न नहुने उनको भनाई छ । उनले भने, सेबोनले पनि देशव्यापी मासिक रूपमा लगानीकर्ता सचेतना अभियान ७७ जिल्लाभर गर्नुपर्ने आवश्यकता खट्किएको छ । डेरीभेटिभ र कोमोडीटी मार्केट, हेज फण्ड, मार्केट मेकर र डीलरसीपका लागि तदरुकता देखाउनुपर्छ । उनले पछिल्लो समय म्युचुअल फण्डमा व्यवस्थापन सम्हालेका उच्च अधिकारी व्यक्तिगत स्वार्थमा लागेर लगानीकर्ताको सम्पत्तिमाथि खेलवाड गर्ने काम भइरहेको उल्लेख गर्दै यो विषयमा तत्काल छानबिन अगाडि बढाउन धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । उनका अनुसार नियामक निकायका बोर्डकै कतिपय अधिकारीको गतिविधि शंकास्पद रहेकोले सो बिषयमा समेत छानबिन हुनुपर्दछ । 

सेबोन र नेप्से लगायत सरोकारवाला निकायले पूँजीबजार सम्बन्धी मासिक पत्रिका प्रकाशन गर्नुपर्ने र पारदर्शिता प्रदर्शनको खाँचो रहेको उनको सुझाव छ । सेयर बजारसँग सम्बन्धित संघसंगठनका पनि साझा उद्देश्य बनाई गर्व गर्न लायक काम गर्नुपर्ने र यस्ता संगठनका अधिकारीहरुले स्वार्थ बाझिने काम गर्न नहुने पनि उनको सुझाव छ ।  केही संघसंगठन मिलिनियर क्लब र कुनै पारिवारिक कम्पनीका संघका रुपमा दरिएका, तर लगानीकर्ताको हकहितमा केन्द्रित नभएकोमा उनले चिन्तासमेत व्यक्त गरे ।

नवराज जी अन्य संघसंगठनमा अडिनु भएन नि ? भन्ने प्रश्नमा सीमित स्वार्थ बोक्नेसँग सोंच नमिलेकाले आफू अलग्गिनु परेको जिकिर गरे । कोहीको अहमता बढ्ने, सतही रुपमा सेलेब्रेटी बन्ने आफ्नो ध्याउन्न नरहेको भन्दै सुबेदीले भने, निश्वार्थ भएर कार्यक्षेत्रमा नखटिएको र बेच्नु परेमा घटे हुने र किन्नुपर्ने भएमा बढे हुने भन्ने २ स्वार्थमा संघसंगठनका गतिविधि केन्द्रीत भएकाले त्यस किसिमका गलत स्वार्थलाई चिर्दै नयाँ शिराबाट स्वार्थ समूहलाई त्यागेर नयाँ पाठ सिक्दै असल साथीहरूलाई सशक्त ढंगले अगाडि बढाउने उद्देश्यबाट प्रेरित भई नयाँ संगठनलाई जन्म दिएको उनको दाबी छ । 

नेपालको सेयर बजारमा विश्वकै जुनसुकै कुनाबाट पहुँच र प्रत्येक नेपालीको सहजै पहुँचमा वृद्धि गर्दै अन्तररास्ट्रिय स्तरका औजारहरुको विकास र विस्तारले सेयर बजारको भविष्य उज्ज्वल बनाउन सकिने उनको बुझाइ छ । देशव्यापी लगानीकर्ता जागरण र  नयाँ नयाँ प्रणालीका कानूनी झञ्झटबाट मुक्त पार्न सबै तह र तप्काबाट एउटै आवाज बुलन्द हुनुपर्नेमा उनको जोड छ ।

लामो समयसम्म घटेको बजारमा अब बढ्ने युग सुरु हुने दाबी गर्दै उनले नेपालको सेयर बजारको भविष्य सुन्दर रहेको दाबी गर्न समेत भूलेनन् । उनले भने-'नेप्से बढ्ने पूर्वसन्ध्यामा छ । लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुन्छ ।' 

आर्थिक सूचक र पूँजीबजारको सम्बन्ध सकारात्मक हुने र नीति निर्माताले राम्रो वातावरण बनाएर अर्थतन्त्रलाई मजबुत पारे त्यसको सकारात्मक प्रभाव पूँजीबजारमा समेत पर्ने र बजारले ऐतिहासिक उचाई चुम्ने उनको धारणा छ । 

नयाँ लगानीकर्ताहरुले प्रशस्त अध्ययन अनुसन्धान गर्नुपर्ने, राम्रा मिडियामा आएका अग्रजहरुको अन्तर्वार्ता, लेखरचना पढ्नुपर्ने, भरपर्दा संघसंगठनबाट दिइने तालिम लिनुपर्ने र कम्पनीको केस्रा केस्रा केलाएर बजारमा प्रवेश गर्नुपर्ने उनको सुझाव छ । हरेक कम्पनीको त्रैमासिक प्रतिवेदन, प्रतिफल, पीई, इपीएस, कम्पनीको समग्र पक्ष तथा वृद्धिलाई हेरेर लगानीको रणनीति बनाउनुपर्ने उनको सुझाव छ ।

सेयरमा नाफा कमाउने सूत्र के हो ? भन्ने प्रश्नमा उनले ४ घण्टा बजारमा आएर बाँकी रहेको २० घण्टा सूचना संकलन, अध्ययन अन्तरक्रिया र कम्पनीप्रति अवधारणा क्लियर गर्दै समय र जोखिम व्यस्थापन गरेर लगानी विविधिकरण गर्नुपर्ने बताउँछन् । ब्याजदर घटेको बेला पैसालाई स्टकमा र ब्याजदर बढेको बखत स्टकलाई क्यासमा परिणत गर्नुपर्ने र बजारलाई पछ्याउँदै मास सेन्टिमेन्ट अध्ययन गरे निश्चितरूपमा सफल भइने सुवेदीको दाबी छ ।

अर्थतन्त्रका सूचकको सूक्ष्म अध्ययन र लगानीको समय निर्धारण अनि जोखिम व्यवस्थापनमा सजग हुन सकेको खण्डमा सोचेको प्रतिफल लिन सकिने उनले थपे ।

नियामक निकाय र सरोकारवाला संस्थाहरुले कम बोल्न र बढी काम गर्न सके सक्नुपर्ने र मिडियाहरुले समेत जिम्मेवार भएर गुणस्तरीय समाचार पस्किनुपर्ने उनको सुझाव छ ।