काठमाण्डौ । पूँजीबजारमा दशैंको ह्याङओभर जारी नै रहँदा इण्डेक्स घट्ने क्रम जारी छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा केही सुधार भए पनि इण्डेक्स चाहि घटेको छ । 

एकातर्फ दशैंको  ह्याङओभर उत्रिन सकेको छैन भने उपलब्ध लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा बस्दा बजारमा खरीदको चाप खासै पर्न सकेको छैन । यही कारण समेत इण्डेक्स घटिरहेको हो । 

सेयर विश्लेषक अञ्जनराज पौड्यालको भनाईमा नियमित लगानीकर्ताको अनुपस्थिति, चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टको पर्खाई, लाभांश घोषणा गर्न बाँकी कम्पनीहरुको समेत उस्तै पर्खाई लगायतका कारणले समेत पूँजीबजारमा दिनहुँ निराशा देखिएको हो । 'तर पहिलो त्रैमासिक रिपोर्ट आउन क्रम सुरु भएकोले अर्को सातादेखि बजारमा सुधार हुनेछ ।' आगामी साताको बजार प्रक्षेपण गर्दै पौड्यालले भने-'लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरुबाट पनि केहीन केही आउला, साधारणसभाहरु पनि होलान्, यसले बजारमा सकारात्मक प्रभाव पार्नेछ ।' 

बुधबार नेप्से परिसूचक ४.८४ अंकले घटी १७८७.८९ अंकमा झर्यो । होटल समूहमा झिनो बढोत्तरी बाहेक सबै समूहमा रातो पोतियो । बुधबार कारोबार रकममा भने केही सुधार भएको छ । मंगलबार ५० करोडको सेयर किनेबच भएकोमा बुधबार ५६ करोड ४६ लाख बराबरको कारोबार भयो । कुल कारोबारमा बुधबार पनि वाणिज्य बैंककै अग्रता रह्यो । सो समूहले मात्र २९ करोडको कारोबार गर्यो । 

वाणिज्य बैंक समूहको सूचक चाहि १.८४ अंकले घट्यो । विकास बैंक ४.४४, जलविद्युत ३.८३, बित्त १.९९, बिमा समूह ५७.१३,  उत्पादनमूलक ६.८२ र अन्य समूह ७.८१ अंकले घटेका छन् । होटल समूह २.२५ अंकले मात्र बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार पनि कुमारी बैंक लिमीटेडले नै सबैभन्दा धेरै कारोबार गर्यो । यो बैंकको ५ करोड बराबरको कारोबार भयो । शिखर इन्स्योरेन्सले २ करोड ९९ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड ५५ लाख, माछापुच्छे बैंकले २ करोड ४६ लाख, ज्योति विकास बैंकले २ करोड ४० लाख, सानिमा बैंकले २ करोड १७ लाख, सिद्धार्थ बैंकले २ करोड १४ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र एकस्थान विकास बैंक समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजार घटे पनि दुई कम्पनीका लगानीकर्ताले पैसा छापे । रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्था र कामना विकास बैंक लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य पनि ४ प्रतिशतको हाराहारीले बढ्यो । 

बुधबार बिजय लघुवित्त बित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले बढी गुमाउन पुगे । विजय लघुवित्तको सेयर मूल्य ४.४६ र सिन्धुको ४.२५ प्रतिशतले घट्यो ।