काठमाण्डौ । नेपालका एयरलाइन्सहरुले दशैंतिहार जस्ता ठूला चाडपर्वको बेला सर्वसाधारणको बाध्यतामा खेल्दै हवाई भाडाको नाममा लुट मच्चाउने गरेका छन् । नियामक निकायहरुको ध्यान गाडी भाडामा हुने मनपरी र कालोबजारीमा केन्द्रीत हुँदा हरेक वर्ष दशैंतिहारको पिक आवरमा एयरलाइन्सहरुले यात्रुुबाट औधी महंगो भाडा दर असूल्दै आएका छन् । हवाईभाडाको नाममा हुने लुटको बिषयमा कसैले पनि ध्यान दिने गरेको छैन । 

सामान्य अवस्थामा विभिन्न हवाई रुटमा तोकिएको भाडादर भन्दा निकै(करिब ५० प्रतिशत)सम्म रकम लिएर यात्रुु उडाउने एयरलाइन्सहरुले पर्वमा भने भाडादरमा कस्ने गरेका छन् । उदाहरणका लागि उनीहरुले काठमाडौ विराटनगरका लागि तोकेको प्रतियात्रुु एकतर्फी भाडादर ७ हजार १ सय ४ रुपैयाँ हो । तर, अहिले ३५ सय रुपैयाँसम्ममा पनि टिकट पाइन्छ । तर, दशैंको अवधिमा भने ७ हजार १ सय ४ रुपैयाँको टिकट पाउनै पनि हम्मे पर्छ । 

ठूला पर्वको बेला हवाईभाडमा एयरलाइन्सहरुले कस्दा सहज सडक यातायातको व्यवस्था नभएका क्षेत्रहरुका यात्रुुले बढी दुःख पाउने गरेका छन् । त्यस्ता ठाउँका यात्रुुहरुले एयरलाइन्स कम्पनीहरुले नै तोकेको भन्दा पनि बढी भाडा तिर्नुपर्ने बाध्यता समेत छ। त्यस्ता रुटमा टिकटमा कालोबजारी हुने र दशैंका लागि घर फर्किन चाहने यात्रुहरुको बाध्यतामा खेल्दै धेरै रकम असूल्ने गरिएको छ । 

दशैं सुरु हुनुुभन्दाअघि नै एयरलाइन्सहरुको टिकट सकिने हुँदा समेत उनीहरुको भाउ यसरी बढेको हो । काठमाण्डौबाट विभिन्न गन्तव्यसम्म पुुग्नका लागि अहिले चलेका एयरलाइन्समध्ये अधिकांशले टिकट अग्रिम बुक भइसकेको बताएका छन् । 

एयरलाइन्सका कर्मचारीहरुका अनुसार दशैंको घटस्थापनादेखि पछिका काठमाण्डौ बाहिर उड्ने सबै रुटको टिकटमध्ये ९० प्रतिशत बुुक भइसकेको छ । खास गरी काठमाण्डौबाट विराटनगर, भद्रपुर, तुम्लिंगटार, सिमरा, भरतपुर लगायतका गन्तव्यको सिट बुक भइसकेको छ । नेपालगञ्ज र धनगढीका लागि भने घटस्थापनापछिको सिट खासै बुक भएको छैन । 

यात्रुुहरुको चाप र बाध्यतालाई बुुझेका एयरलाइन्स कम्पनीहरुले दशैंलाई कमाउने मौकाको रुपमा उपयोग गर्दै फूल भाडादरमा एकपैसा पनि नघट्ने गरी एउटै भाडादर सबैले कार्यान्वयन गराउने सहमति गरेका छन् । जसअनुसार अरुबेला सस्तोमा पाइने टिकट यो बेला यात्रुुले पाउने छैनन् ।

एयरलाइन्स एशोसिएसन अफ नेपालले तय गरेको भाडादरले क्यानले समेत स्वीकृत गरेपछि हवाई सेवाको नाममा सर्वसाधारण लुट्ने एयरलाइन्सहरुको धन्दाले यो पटक पनि बैधानिकता पाएको छ। 

उनीहरुले दशैं सुरु(घटस्थापना)को दिनदेखि पछिको काठमाण्डौबाट विभिन्न गन्तव्यमा हुने उडानका लागि महङ्गो भाडादर कायम गरी त्यसको सूचि नै सार्वजनिक गरेका छन् । यो अवधिको भाडादरको सूचि यस्तो छ:

रुट भाडादर रु.
काठमाडौं–विराटनगर ७१०४ 
काठमाडौं–भद्रपुर ८६७६ 
काठमाडौं–भैरहवा ५९१३
काठमाडौं–धनगढी १२११९
काठमाडौं–नेपालगन्ज ८३६५ 
काठमाडौं–पोखरा ४७00
काठमाडौं–जनकपुर ३९४८
काठमाडौं–सिमरा ३५00
काठमाडौं–भरतपुर ३४५३
काठमाडौं–तुम्लिङटार ५६२३