काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको आसन्न चाड विजयादशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विविध सेवामा छुटको अफर सार्वजनिक गरेको छ ।  

डेटाको प्रयोग बढिरहेको सन्दर्भमा नेपाल टेलिकमले डेटा प्रयोगकर्तालाई विशेष सहुलियतसहितको अफर सार्वजनिक गरेको हो । 

टेलिकमले दशैंको अवसरमा सार्वजनिक गरेको विशेष अफर अन्तर्गतका छुट तथा बोनस यसप्रकार छन्:

१.अनलिमिटेड प्याक: यस अफरअन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिनेछ । रु. ६००।– मा १५ दिन समयावधिका लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइनेछ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर(विहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु. ३००।– मा समेत उपलब्ध हुनेछ । 

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइनेछ । 

२.भ्वाइस प्याक: यसअन्तर्गत रु. ६।– मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिनेछ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ । 

भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

३.डाटा प्याक: यस अन्तर्गत ३६ एमबी डाटा रु. ६।– मा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

उपरोक्त अफरहरु यही  असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ । 

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।   

४.रिचार्जमा बोनस: आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु. १००।– र २००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रु. १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । 

त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । 

५.एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ
आगामी असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने छ ।