काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आगामी असोज १० गते आफ्नो १३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। 

बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा संचालक समितिले गरेको प्रस्ताव अनुसार १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव समेत पेश हुनेछ । साधारणसभाबाट यी प्रस्ताव पारित भए सिटिजन्स बैंकका लगानीकर्ताले दशैंअघि नै लाभांश पाउनेछन् । 

बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रस्तावलाई समेत साधारणसभामा लैजानेछ । यस्तै, वैदेशिक राणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो विषयमा समेत साधारणसभामा छलफल हुनेछ । 

साधारणसभामा २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ असार मसान्तको बैंक तथा बैंकका सहायक कम्पनीसहितको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने प्रस्ताव समेत पेश हुने बताइएको छ । 

साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना संचालक तथा सर्वसाधारण सेयरधनीको तर्फबाट एकजना संचालकको निर्वाचन समेत गर्नेछ । 

यसैबीच, बैंकले १३ औं वार्षिक साधारणसभा प्रयोजनका लागि भदौ ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

यसको अर्थ बैंकबाट घोषित लाभांश पाउन, साधारणसभामा सहभागी हुन र मतदानमा सहभागी हुनका लागि समेत भदौ ३० गतेभित्र बैंकको सेयरधनी कायम भइसक्नुपर्नेछ ।