काठमाण्डौ । दशैंपछि बजार बढ्ने आशामा लगानीकर्ताहरुले खरीदारी बढाउँदा मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । 

यो दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि बढोत्तरी भयो ।

अहिले बजारबाट सेयर उठाउनेहरुले दशैंअघि त्यसको भुक्तानी गर्नुपर्दैन । लगानीका लागि तत्कालै पैसा नचाहिने भएको र दशैंपछि बजार बढ्ने लगानीकर्तामा विश्वास देखिएका कारण बजारमा दोहोरो अंकको बढोत्तरीले निरन्तरता पाएको ब्रोकरहरु बताउँछन् । 

पछिल्लो समय लगानीकर्ता सेयर बिक्रीको क्रमलाई कम गरी खरीदततर्फ ध्यान दिएका छन् । यसमा कतिपय राम्रा कम्पनीहरुको धमाधमको लाभांश घोषणाले समेत केही काम गरेको छ । तर, मंगलबारको बजारमा भने लाभांश घोषणा गरिएकै कम्पनीहरुको सेयर मूल्य घट्यो । 

यो दिन नेप्से परिसूचक १०.१३ अंकले बढेर ११४५.६९ को विन्दूमा पुग्यो । राम्रा र बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा ३.१९ अंकको बढोत्तरी भयो । यसको अर्थ लगानीकर्ताहरु दशैंअघि राम्रा र बलिया कम्पनीको सेयर उठाइरहेका छन् भन्ने बुझिन्छ । 

यो दिन समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७९ अंकको बढोत्तरी भयो । 

होटल, उत्पादन तथा प्रशोधन समूह तथा म्युचुअल फण्ड समूहका उपसूचक घटे पनि बाँकी समूहका उपसूचक भने बढे । होटल समूह ७.९३ अंकले घट्यो भने उत्पादन तथा प्रशोधन समूह ५२.९२ अंक र म्युचुअल फण्ड समूह ०.०१ अंकले घटे । 

यो दिन बैंकिङ समूह १२.८१ अंकले बढ्यो भने विकास बैंक समूहमा ३.८४ अंक, जलविद्युत समूहमा ५.१८ अंक, बित्त समूहमा ९.६८ अंक, निर्जीवन बिमा समूहमा ४९.१२ अंक, जीवन बिमा समूहमा १६.६१ अंक, माइक्रोफाइनान्समा ११.२९ अंक र अन्य समूहमा ९.१२ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६४ कम्पनीका १३ लाख ८६ हजार २८ कित्ता सेयर ३१ करोड १४ लाख ८८ हजार ६५२ रुपैयाँमा किनबेच भयो ।

यो दिन नेपाल बंगलादेश बैंकको ७ करोड बढीको संस्थापक सेयर कारोबार भयो भने शिवम सिमेन्टले ४ करोड ३० लाख बढीको कारोबार गर्यो । 

नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ३१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा मेगा बैंकले १ करोड ३४ लाख, नेपाल टेलिकमले १ करोड २९ लाख, हिमालयन डिस्टीलरीले १ करोड ६ लाख, सिद्धार्थ बैंकले ९५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६७ लाख,प्रभू बैंकले ५३ लाख र कृषि विकास बैंकले ४५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिनर्जी पावर र यूनाइटेड फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यी दुवै कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो ।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै घट्यो । कम्पनीको सेयर मूल्यमा ९.०९ प्रतिशतको गिरावट आयो ।