काठमाण्डौ । राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । 

जेम फ्लोरिङको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु भएको एक्स्पोको एक कार्यक्रमकाबीच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । 

एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ ध्यानाकर्षण गराएका थिए । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गइरहेको कच्चापदार्थको सदुपयोग गर्न आफूहरुलाई बाटो खोलिदन आग्रह गरेका थिए । 

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी उत्पादनको प्रयोग गर्न आम उपभोक्तालाई अपील गर्दै आफूहरु अन्तर्राष्ट्रियस्तरको उत्पादन तयार गर्नसक्ने बताए । राज्यको असहयोगका कारण यो क्षेत्रको अपेक्षित विकास हुन नसकेको उनको भनाई थियो ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको बृहत प्रदर्शनी हुनेछ । सो अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्रीवितरण हुनेछ ।

एक्स्पोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्रमार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै, प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्स्पोको अर्को आर्कषण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ ।

फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिङ रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिङ, ग्लेनर डिलाइट रहेका छन् । 
एक्स्पोको छैठौं संस्करणको व्यवस्थापक इभेण्ट सोलुसन प्रा.लि. रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन्। यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामाग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षणका रुपमा रहेका छन् ।

असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलमा फर्निचरजन्य उत्पादनको बृहत प्रदर्शनी हुनेछ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।