काठमाण्डौ । दशैंको विदा सकिएलगत्तै विभिन्न सरकारी निकायमा जागिरको अवसर खुलेको छ । 

वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पर्यटन मन्त्रालय अन्तरगतको नेपाल वायुसेवा निगम, अर्थमन्त्रालय अन्तरगतको निक्षेप तथा कर्जा सुरक्षण कोष,उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास समिति लगायतका निकायहरुले विभिन्न पदमा दरखास्त आह्वान गर्दै आइतबार आवश्यकता सम्बन्धी सूचना प्रकाशन गरेका हुन् । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ५ जना शाखा अधिकृत र ३ सहायक पदमा दरखास्त आह्वान गरेको छ । केन्द्रले आइतबार एक पदपूर्ति सम्बन्धी सूचना प्रकाशन गर्दै प्रशासन सेवामा खुल्लातर्फ ३, मधेशीतर्फ १ र दलिततर्फ १ गरी कुल ५ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । 

यसैगरी, प्रशासन सेवाकै खुल्लातर्फ १, मधेशीतर्फ १ र दलिततर्फ १ गरी सहायक पदमा कुल ३ जनाका लागि जागिरको अवसर खुलाइएको छ । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेकोले अधिकृतका लागि र एसएलसी मात्र उत्तीर्ण गरेकोले सहायक पदमा दरखास्त दिनसक्ने बताइएको छ । अधिकृतका लागि ६ सय रुपैयाँ र सहायकका लागि ४ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । इच्छुकहरुले आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएको(आइतबार)को ठीक ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा रहेको छ ।  दरखास्त फारम केन्द्रीय कार्यालयबाट १ सय रुपैयाँ तिरेर वा केन्द्रको वेबसाइटबाट समेत डाउनलोडन गर्न सकिन्छ । www.tepc.gov.npबाट डाउनलोड गरी भरिने फारम बुझाउँदा १ सय रुपैयाँ शुल्क लाग्ने बताइएको छ । 

उता, नेपाल वायुसेवा निगमले सहायक र लेखा सहायकदेखि अधिकृतसम्मको पदका लागि ५३ जनाका लागि जागिरको अवसर खुलाएको छ । 

मिगनले छैठौं तहको अधिकृत(प्रशासन तथा सामान्य प्रशासन समूह)का लागि १५ जना मागेको छ । ८ खुल्ला, २ महिला, २ आदिवासी जनजाति, २ मधेशी र १ दलितका लागि कोटा छुट्याइएको छ । छैठौ तहको लेखा अधिकृत पदमा ६ जना मागिएको छ । यसमा ३ खुल्ला, १ महिला, १ आदिवासी जनजाति र १ मधेशीका लागि कोटा छुट्याइएको छ । 

यस्तै, पाँचौ तहको वरिष्ठ सहायका लागि १२ जना मागिएको छ । ७ खुल्ला, २ महिला, १ आदिवासी जनजाति, १ मधेशी र १ दलितका लागि कोटा छुट्याइएको छ । पाँचौ तहकै वरिष्ठ लेखा सहायकमा २ जना मागिएको छ । चौथो तहको सहायक पदमा १७ जना र सोही तहको लेखा सहायक  पदमा १ जनामा मागिएको छ । सहायक पदमा ९ जना खुल्ला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेशी र १ दलितका लागि कोटा छुट्याइएको छ । 

अधिकृत पदमा स्नातक तह उत्तीर्ण, लेखा अधिकृतका लागि लेखा बिषयसहित वाणिज्यशास्त्र वा व्यापार प्रशासन वा व्यवस्थापनमा स्नातक उत्तीर्ण, वरिष्ठ सहायक पदमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण, वरिष्ठ लेखा सहायक पदमा वाणिज्य वा व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले दरखास्त दिनसक्ने बताइएको छ । सहायक र लेखा सहायकका लागि एसएसली उत्तीर्णले नै आवेदन दिन सक्ने बताइएको छ । 

यो सूचना प्रकाशित भएको २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय, न्यूरोडमा दरखास्त फारम बुझाउनुपर्ने र दरखास्त फारम केन्द्रीय कार्यालयबाटै १ सय रुपैयाँ बुझाएर प्राप्त गर्न सकिने बताइएको छ । 

यसैबीच, काठमाण्डौको टंगालमा मुख्य कार्यालय रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले समेत ११ पदमा १३ जना जनशक्ति मागेको छ । नवौं तहको प्रबन्धक, आठौं तहको नायव प्रबन्धक, सातौं तहको अधिकृत, सोही तहको कम्प्युटर अधिकृत, छैठौ तहको सहायक अधिकृत, पाँचौ तहको प्रशासन सहायक, सोही तहको प्रधान सहायक, वरिष्ठ कम्प्युटर सहायक र चौथो तहको कम्प्युटर सहायक पदमा दरखास्त आह्वान गरिएको छ । 

अधिकांश पदहरु केन्द्रीय कार्यालयका लागि खुलाइएको हो । स्नातक तह उत्तीर्ण गरी सिए, एसीसीए र सीपीए उत्तीर्ण गरेकाहरुले सहायक अधिकृतसम्मको पदमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । प्रबन्धकका लागि सिए, एसीसीए र सीपीए उत्तीर्ण गरी संगठित संस्थामा कम्तीमा ४ वर्ष काम गरेको व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ । यसैगरी, नायब प्रबन्धकका लागि सोही तहको शिक्षा पूरा गरी ३ वर्ष कार्य अनुभव हुनुपर्ने, अधिकृत तहका लागि सोही तहको शिक्षा पूरा गरी  २ वर्षे कार्यअनुभव हुनुपर्ने उल्लेख छ । कम्प्युटर इञ्जिनियरिंगमा स्नातकोत्तर गरेकाले मात्रै पनि कम्प्युटर अधिकृत पदमा भने आवेदन दिनसक्नेछन् ।
सहायक अधिकृतहरुमा पनि सिए, एसीसीए र सीपीए उत्तीर्णले मात्रै आवेदन दिनसक्ने बताइएको छ । 

प्रधान सहायक पदमा स्नातक तह उत्तीर्ण गरी कम्प्युटरको अफिस प्याकेजको तालिम लिएकोले आवेदन दिनसक्ने बताइएको छ । कम्प्युटर विषयमा डिप्लोमा उत्तीर्णले वरिष्ठ कम्प्युटर सहायक पद तथा दश जोड दुई उत्तीर्ण तथा अफिस प्याकेजको तालिम लिएकोले कम्प्युटर सहायक पदमा आवेदन दिनसक्ने बताइएको छ । 

यसैगरी, घरेलु तथा साना उद्योग विकास समितिले समेत ८ पदमा १२ जनाका लागि जागिरको अवसर खुलाएको छ । प्रशासन समूहका लागि निर्देशक र उपनिर्देशक पदमा १ १ जनाका लागि दरखास्त आह्वान गरिएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तहको उपाधि हासिल गरेकोले यी दुई पदमा दरखास्त दिनसक्नेछन् । तर निर्देशकका लागि संगिठत संस्थाको अधिकृतस्तर पदमा ६ वर्ष र उपनिर्देशकका लागि ३ वर्षको कार्य अनुभव हुनुपर्ने उल्लेख छ । 

प्राविधिक, डिजाइन स्पेशलिस्ट सेवातर्फ उपनिर्देशक पदमा समेत १ जना मागिएको छ । यो पदमा समेत सम्बन्धित बिषयमा स्नातकोत्तर गरी ३ वर्ष काम गरेको अनुभवले दरखास्त दिनसक्ने बताइएको छ । प्रशासन समूहहको वरिष्ठ अधिकृत पदमा १ जना मागिएको छ । सम्बन्धित बिषयमा स्नातकोत्तर गरेको र कुनै संगठित संस्थामा अधिकृत स्तरकै पदमा २ वर्ष काम गरेकोले अवसर पाउने बताइएको छ । 

प्राविधिक समूहतर्फको वरिष्ठ अधिकृत पदमा १ जना मागिएको छ र यसमा टेक्सटायल इञ्जिनियरिंगमा स्नातक तह उत्तीर्णले आवेदन दिनसक्ने बताइएको छ । 

छैठौ तहको शाखा अधिकृत पदमा ४ जना मागिएको छ । स्नातक तह उत्तीर्णले यसमा आवेदन दिन पाउनेछन् । सोही तहको लेखा अधिकृत पदमा २ जना मागिएको छ । वाणिज्य प्रशासनमा स्नातक वा सो सरहको शिक्षा पूरा गरेकाले आवेदन दिनसक्ने छन् । यस्तै, पाँचौ तहको लेखापाल पदमा वाणिज्य प्रशासनमा प्रमाणपत्र गरेका वा सो सरहको शिक्षा पूरा गरेकाले आवेदन दिनसक्नेछन् । यो पदमा एकजना मागिएको छ । आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएको ३० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । घरेलु तथा साना उद्योग विकास समितिको त्रिपुरेश्वरस्थ्ति प्रधान कार्यालय वा www.csidb.gov.npबाट समेत फारम डाउनलोड गर्न सकिन्छ ।