काठमाण्डौ । नेपालीको महान पर्व दसैँ आउन अब ११ दिनमात्र बाँकी छ । दसैँमा प्रायः टिका थापेपछि र लगाएपछि दक्षिणका रुपमा पैसासँगै सगुनका रुपमा फूल वा फलफूल दिने प्रचलन रहिआएको छ।

ताजा फूल र फलफूलसँगै प्रायः नयाँ नोट दिने चलन छ । दसैँमा चाहिने नयाँ नोटका लागि उपभोक्ताहरु अहिलेदेखि नै सोधिखोजी गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा अहिलेदेखि नयाँ नोट लिन जाने ग्राहकको संख्या बढ्न थालेको बैंकहरुले बताएका छन् ।

दसैँका बेला हरेक वर्ष नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट ग्राहकलाई बाँड्न वितरण गर्ने गरेको छ । यो वर्ष पनि ग्राहकले असोज १० गतेबाट बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट पाउने भएका छन् ।

ग्राहकलाई उपलब्ध गराउन राष्ट्रबैंकले असोजको पहिलो साताभित्रै बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ नोट पठाउन तयारी गरिरहेको छ ।

राष्ट्र बैंकले यो वर्ष रु. ५ देखि रु ५०० दरसम्मका १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने योजना बनाएको छ । गत वर्ष भने राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँबराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरुमार्फत ग्राहकलाई वितरण गरेको थियो ।