काठमाण्डौ । नेपालीको घरआँगनमा दसैँको चटरो परिसकेको छ । दसैँमा आवश्यक सरसामग्री किन्ने भीडा बजारमा बढिरहेको छ ।

दसैँको रमझम सुरु भए पनि यसपालि तरकारीजन्य वस्तुको भाउ अकासिँदा आमउपभोक्ता रुनु न हास्नुको स्थितिमा पुगेका छन् । विशेषगरी नेपालीको भान्सामा अत्यावश्यक सुकेको प्याज दोब्बरले बढ्दा उपभोक्ता मारमा परेका छन् ।

गत भदौ १३ गते खुद्रा मूल्य प्रतिकेजी ६८ रुपैयाँमा पाइने सुकेको प्याज अहिले १३५ रुपैयाँ पुगेको छ । एक महिनाकै अवधिमा सुकेको प्याजको भाउ झनै शतप्रतिशत वृद्धि हुन पुगेको छ ।

नेपाली बजारमा सुकेको प्याजको भाउ अझै बढ्न सक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुमान छ । समितिका अनुसार नेपाली बजारमा यहीँ उत्पादित सुकेको प्याज पर्याप्त छैन । यसको आधाभन्दा बढी हिस्सा भारतबाट आयात हुने सुकेको प्याजले धानेको छ ।

भारतको केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्रालयले भारतमा बढ्दै गएको सुकेको प्याजको मूल्य नियन्त्रणमा लिन अन्य देशमा निर्यात रोकेपछि प्याजको भाउ अझै बढ्न सक्ने पक्का भएको छ ।

चाडपर्वका बेला भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली उपभोक्तालाई सुकेको प्याजमा हुन सक्ने बढोत्तरीले रुवाउने पक्का भएको छ ।

सामान्य अचारदेखि सबैखाले तरकारीमा प्रयोग हुने सुकेको प्याज अब यो साताभित्रै दुई सय प्रतिशतले बढ्न सक्ने व्यापारीहरु अनुमान लगाउँछन् । यदि सुकेको प्यास २०० प्रतिशतले बढेमा यसको मूल्य प्रतिकेजी २२० रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान लगाइन्छ । प्याजको कालोबजारी पनि सुरु भइसकेको छ ।

भारतको केन्द्रीय सरकारले प्याज निर्यातमा प्रतिबन्धसँगै कारोबारीको भण्डारण सीमा पनि निर्धारण गरेको छ । भारत सरकारले देशभरका खुद्रा कारोबारीका लागि १०० क्विन्टल र थोक कारोबारीका लागि ५०० क्विन्टलसम्म सुकेको प्याज भण्डारण सीमा निर्धारण गरेको छ । 

अहिले भारतीय बजारमा अधिकतम प्रतिकेजी सुकेको प्याजको खुद्रा मूल्य ११० रुपैयाँदेखि १३० रुपैयाँसम्म पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यस वर्ष भारतका महाराष्ट्र र कनार्टकलगायतका राज्यहरुमा प्याज उत्पादनमा कमी आएपछि मूल्य आकासिएको हो । त्यस्तै अघिल्लो वर्षको खडेरी र दुई महिनाअघिको अत्याधिक वर्ष र त्यसपछि आएको बाढीले पनि भारतमा प्याजखेती नराम्ररी प्रभावित भएको छ ।

सुकेको प्याजमात्र होइन नेपाली बजारमा हरियो प्याजको भाउ त झन्डै २०० प्रतिशतले बढेको छ । गत भदौ १३ गते प्रतिकेजी ७५ रुपैयाँ रहेको हरियो प्याजको मूल्य अहिले २१५ रुपैयाँ पुगेको छ ।

त्यस्तै भान्जामा अत्यावश्यक हरियो खुर्सानीको भाउ पनि छोइनसक्नु भएको छ ।

भदौ दोस्रो सातासम्म ७५ रुपैयाँ प्रतिकेजीमा पाइने हरियो खुर्सानी अहिले १२५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँमै पाइने भेडे खुर्सानी १९० रुपैयाँ पुगेको छ ।

त्यस्तै हरियो सागको भाउ त झनै आकासिएको छ । भदौको दोस्रो साता प्रतिकेजी ६५ रुपैयाँमा पाइने रायो र पालुंगोको साग झन्डै २१५ प्रतिशतले बढेर अहिले २०५ रुपैयाँ पुगेको छ ।