- धर्म मलासी

काठमाण्डौ । दसैँको आगमनसँगै उपत्यकामा खसी, बोका र च्यांग्रा किन्नेको घुइँचो बढ्न थालेको छ ।

विशेषगरी दसैँको अष्टमीका दिन बोका बलि दिने प्रचलन छ । त्यस्तै दसैँमा मासुका लागि खसी र च्यांग्रा किन्ने गरिन्छ ।

दसैँको तृतीयका दिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित अञ्चल कार्यालयमा पुग्दा खसी, बोक र च्यांग्रा किन्ने भीड नै देखियो ।

कार्यालयले हिजो सोमबारदेखि खसी, बोका र च्यांग्रा बिक्रीवितरण थालेको छ । कार्यालयले विगतका वर्षहरुमै जस्तै यो वर्ष पनि खसी, बोका र च्यांग्राको सुपथ बिक्रीवितरण गरिरहेको छ ।

 

बजारभाउभन्दा सस्तो मूल्यमा स्वस्थ र गुणस्तरीय खसी बोका र च्यांग्रा बेचिरहेको कार्यालयमा उपभोक्ताको आर्कषण पनि उत्तिक भेटियो ।

कोही मोटरसाइकलमै हालेर लगिरहेका थिए तर कोजी निजी कार र ट्याक्सीमा आफूले किनेको खसी, बोका र च्यांग्रा लैजाँदै गरेका देखिए।

स्वदेशी खसी, बोका र च्यांग्रालाई प्रर्वदन गर्ने उद्देश्यले कार्यालयले देशभित्रकै जिल्लाहरु मुस्ताङ, दाङ र सर्लाहीका किसान समूहबाट खसी बोका भित्र्याएको छ ।

जनसंख्याको चापलाई मध्यनजर गर्दे यो वर्ष कार्यालयले पहिलेभन्दा बढी मात्रामा खसी, बोका र च्यांग्रा उपत्यका भित्र्याएको छ ।

विगतका वर्षहरुमा भन्दा १५ सय वटामात्र भित्र्याउँदै आएको कार्यालयले यो वर्ष भने ३ हजार खसी, बोका र च्यांग्रा भित्र्याएको छ ।

कार्यालयले प्रतिकेजी ५६० रुपैयाँमा जिउँदो खसी र बोका बेचिरहेको छ भने च्यांग्रा ७४० रुपैयाँमा उपलब्ध गराइरहेको कार्यालय प्रबन्धक रणबहादुर बुढाथोकी बताउँछन् । उनका अनुसार उपभोक्ता खसी, बोका र च्यांग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।