लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ।

उक्त चित्रकलाको नाम 'स्यालभेटर मुण्डी' (सेभिएर अफ द वर्ल्ड) हो। कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी मुल्य हो।

विक्रिको घोषणा हुँदा न्यूयोर्कस्थित क्रिष्टीको लिलामी कोठामा मानिसहरुले ताली बजाएका थिए र खुसी व्यक्त गरेका थिए। लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन्।

ती मध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको ठानिएको छ। उक्त चित्रकलाका लागि अन्तिम मुल्य ४० करोड डलर तोकिएको थियो। परिचय नखुलेका ग्राहक २० मिनेटसम्म चलेको लिलाम बढाबढमा टेलिफोनमार्फत सहभागी भएका थिए।

चित्रकलामा क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिन्छ। सन् १९५८ मा उक्त चित्रकला लण्डनमा ६० डलरमा विक्री भएको थियो।

त्यसबेलासम्म सो चित्रकला लियोनार्दो स्वयंको नभइ उनका एकजना अनुयायीले बनाएको ठानिन्थ्यो।

बीबीसीका कला संवाददाता भिन्सेन्ट डाउड अझै पनि विश्वव्यापी रुपमा उक्त चित्रका चित्रकारका रुपमा लियोनार्दोलाई नस्वीकारिएको बताउँछन्।

चार वर्षअघि उक्त चित्रकलालाई एकजना रुसी नागरिकले १२ करोड ७५ लाख डलरमा किनेका थिए। तर त्यो लिलामी नभइ एउटा निजी विक्री थियो।

-बीबीसीबाट