काठमाण्डौ । नेप्सेले अनलाइन ट्रेडिङ गर्न चाहने लगानीकर्ताहरुलाई ब्रोकर र लगानीकर्ताबीच सम्झौता भएको २ वा ३  दिनभित्रै  अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिन सकिने सूचना पटक-पटक सार्वजनिक गरिरहेको छ । तर, यथार्थमा यस्तो छैन । 

ब्रोकरहरुको असहयोगले लगइन लिन चाहने लगानीकर्ताले समेत कसरी दुःख पाइरहेका छन्, एउटा उदाहरण फेला परेको छ ।

काठमाण्डौभन्दा कोशौं टाढा दाङका सेयर लगानीकर्ता मदनकुमार बुढामगर अनलाइनको लगईन लिनकै लागि काठमाण्डौ आइपुगे पनि उनलाई ब्रोकरले सकेसम्म दुःख दिएका छन् । 

ब्रोकरबाट अनलाइनको लगइन लिने कार्यमा असहयोग भएपछि न्याय माग्दै उनी बुधबार दिउँसो नेपाल स्टक एक्सचेञ्जसम्म आइपुगेका थिए ।

वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई देशको पूँजी निर्माणका निम्ति लगानी गरेका मगर सेयर कारोबारका लागि अनलाइन लगइन लिन खोज्दा सेयर ब्रोकरको उपेक्षाको शिकार भएका हुन् । 

मगरका अनुसार उनका अरु साथीहरुले समेत यस्तै समस्या भोगिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले पूर्ण स्वचालित अनलाईन प्रणालीअनुसार सेयर खरिदबिक्री गर्न सेयर लगानीकर्ताहरुलाई सहज होस् भन्ने हेतूले अनलाइन प्रणाली लागू गरेता पनि लगानीकर्ताहरुले अनलाइन लगइन नपाएका र त्यसमा कतिपय ब्रोकरहरुले नै असहयोग गरिरहेका आरोप बग्रेल्ती आउन थालेका छन् । 

बुधबार कार्यालय समयको पहिलो प्रहरमा नेप्सेस्थित परिसरमा रिसले चूर भएर ब्रोकरको गल्ती हो कि नेप्सेको भन्दै बुझ्न पुगेका थिए बुढामगर । 

अनलाइन ट्रेडिङकै लागि काठमाण्डौका आफ्ना ब्रोकर नम्बर २६ र अर्का ब्रोकर नम्बर ५२ ले आफूलाई अनलाइन ट्रेडिङको सम्झौता पत्रमा सम्झौता गर्न र अनलाइन लगइन नदिएका उनको आरोप छ । 

हिजो आफ्नो कारोबार गर्ने ब्रोकर नम्बर २६ र ५२ बाट बैंक इन्टीग्रेसन नभएकोले सम्झौतापत्र भर्न नमिल्ने जिकिर गरेपछि म आज नेप्सेमा बुझ्न आएको हुँ । नेप्से परिसरमा भेटिएका मगरले बिजशालासँग भने, म लगायत धेरै साथीहरूलाई यस्तै किसिमको झञ्झट दिइरहेका छन् । लगइन लिइसकेपछि ब्रोकरकहाँ आउँदैन भनेर नदिएको हुन सक्छ। 

बैंकलाई ब्रोकर लाईसेन्स दिने डरले हो कि ? भन्ने प्रश्न गर्दै उनले यस्तै पाराले अनलाइन ट्रेडिङको इमेज नै खत्तम हुने जिकिर गरे । 

उनले नेप्से र ब्रोकर नै यो विषयमा दोषी भएका दाबी समेत गरे । अनलाइन ट्रेडिङ असफल पार्न चलखेल भइरहेको हो कि जस्तो लागेर आफू नेप्सेसम्म आइपुगेको समेत उनको जिकिर थियो ।

दाङबाट काठमाण्डौसम्म आएर केवाईसी भर्न आफूलाई पीडा भएकोले जनताको सहजताका लागि सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्नेमा मगरको जोड छ।

यसरी मोफसलका लगानीकर्ताहरुको हितमा केन्द्रित भएको दाबी गर्ने नियामक धितोपत्र बोर्ड , नेप्से र लगानीकर्ताका संघसंगठनहरु कानमा तेल हाली पुसको पारिलो घाम तापेर निदाइरहेका छन् भन्ने कुरा यो घटनाले पुष्टि गर्छ । आफ्ना व्यक्तिगत स्वार्थसँग जोडिएका सानातिना समस्याका लागि समेत आन्दोलन गर्न तम्सिने लगानीकर्ताका नेताहरुले आम लगानीकर्ताले पाइरहेको यस्तो दुःखप्रति गम्भीर बन्नुपर्दैन ?  

अनि अनलाइन लगइन लिन तम्सिएका लगानीकर्तालाई असहयोग गर्ने ब्रोकरमाथि कहिले कारबाही हुन्छ ? चासोको बिषय भएको छ ।