काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्ता साझेदार दलका सभापति शेरबहादुर देउवाबीच स्थानीय तहको निर्वाचन र सर्वोच्च अदालतकको फैसलापछि प्रहरी महानिरीक्षक नियुक्तिको विषयलाई लिएर दरार उत्पन्न भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र देउवाबीच ती विषयमा लामो कुराकानी भए पनि आइतबार द्विपक्षीय बैठक कुनै निष्कर्षमा पुगेन। जसका कारण स्थानीय तहको निर्वाचन र आइजीपी नियुक्तिको विषय अन्यौलमा छ। 

सोमबार पेश गर्ने भनिएको संविधान संशोधनका लागि पुरक संशोधन प्रस्ताव पनि अन्यौलमा परेको छ। दुई सातादेखि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन। देउवाले संयुक्त मधेसी मोर्चा नआए पनि निर्वाचनमा जानुपर्छ भनेर अडान कस्न थालेका छन्। 

यता प्रधानमन्त्री दाहाल मोर्चालाई मनाएर मात्रै निर्वाचनमा जानुपर्ने पक्षमा छन्। ‘प्रधानमन्त्री मोर्चालाई साथ लिएर निर्वाचनमा जानुपर्छ भनेर लागिरहनुभएको छ। तर देउवा मोर्चालाई छाडेर भए पनि निर्वाचनमा जानुपर्ने भन्नुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो। स्रोतका अनुसार मोर्चाले मिति सारेर निर्वाचनमा जानुपर्ने सर्त राखेपछि देउवाले प्रधानमन्त्रीलाई सत्ता लम्ब्याउनका लागि प्रयास गरेको आरोप लगाएका छन्। जवाफमा प्रधानमन्त्री दाहाल निर्वाचनको मिति सार्ने पक्षमा आफू नरहेको बताएका छन्। यो खबर आजको नागरिकमा छापिएको छ ।