काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमणको आशंका गरिएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार केही दिनयता मुख्यमन्त्री केजरीवालाई ज्वारो आउनुका साथै घाँटी दुःख्ने समस्या देखिएको छ। जसका कारण केजरीवाल आफैँले कोरोना परीक्षण गर्ने फैसला पनि गरिसकेका छन्।

अहिले केजरीवाल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेका छन्। भोलि मंगलबारसम्मका लागि उनी सहभागी हुनुपर्ने सबै बैठक तथा भेटघाट रद्द गरिएको मुख्यमन्त्री कार्यालय स्रोत बताउँछ।

दिल्ली सरकारले भने मुख्यमन्त्री केजरीवालमा स्वास्थ्य समस्या देखिएकोबारेमा भने कुनै आधिकारिक जानकारी गराएको छैन। 

भारतमा बितेको २४ घन्टामा झन्डै १० हजार नयाँ कोरोना संक्रमित फेला परेका छन्। यीसँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार नजिक पुगेको छ। 

कोरोनाबाट हालसम्म भारतमा ७ हजार १३५ जनाको ज्यान गइसकेको छ भने १ लाख २४ हजार बिरामी निको भएर घर फर्किएका छन्। – एजेन्सी