काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भारत–नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई आइतबार भारतको नयाँ दिल्लीमा सम्बोधन गरेका छन् । 

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरबैकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैकिङ च्यानलबाट ल्याउने कार्यमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि डेढदशक अगाडिको तुलनामा अहिले निकै सुधार आएको पनि बताए । तर, जनचेतनाको अभावले गर्दा भारतमा रहेका नेपालीहरुले अझै पनि अनौपचारिक माध्यममार्फत भारतबाट नेपालमा पैसा पठाउने गरेको बताए । भारतका बिभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसंग मिलेर ग्लोबल आइएमई बैंकले रेमिट्यान्स नेपाल पठाईरहेको जानकारी गराउँदै बैकिङ च्यानलमार्फत भारतबाट नेपालमा पैसा पठाउन औपचारिक माध्यमको प्रयोगलाई सम्बद्ध सबैले प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रमलाई भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका पूर्वराजदूतहरु रञ्जित रे तथा के. भी. राजन लगायतले सम्बोधन गर्दै भारत–नेपाल रेमिट्यान्समा बैकिङ च्यानलको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा भारतका विभिन्न बैंकका प्रतिनिधि तथा भारतमा कार्यरत नेपालीहरुको उल्लेख्य सहभागिता थियो ।