नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । 

तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । 

गत बर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको वेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।