काठमाण्डौ । दिव्य लघुवित्त वित्तीय संस्था लिमीटेडको प्रथम बार्षिक साधारण सभा फागुन २५ गते शनिवार नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको छ । 

सभाको सभापति अध्यक्ष जीवन भट्टराईले पानसमा बत्ति प्रज्वलित गरेर सभा शुभारम्भ गरेका थिए ।

सभाले आगामी ४ वर्षका लागि जीवन भट्टराई(प्रतिनिधि–सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना (प्रतिनिधि–कैलाश विकास बैंक), महेशबहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै, नयाँ सञ्चालक समितिले  जीवन भट्टराईलाई समितिको अध्यक्ष चयन गरेको छ ।

फागुन ३० गते बिहीबार अध्यक्ष जीवन भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गरेका छन् ।

अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी ११ करोड र चुक्तापूँजी ७ करोड ७० लाख रहेको यस लघुवित्त वित्तीय संस्था लिमीटेडको सर्वसाधारण शेयरधनीलाई छुट्याईएको शेयर बाहेक हालको चुक्तापूँजीको आधारमा सेञ्चुरी कमर्सियल बैंकको ३५.७१ प्रतिशत, कैलाश विकास बैंकको १५.२९ र व्यक्तिगत संस्थापकहरुको ४९ प्रतिशत शेयरमा लगानी रहेको छ ।

हाल यस लघुवित्तको १३ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् भने यस आ.ब.को अन्त्य सम्ममा २२ वटा शाखा कार्यालयहरु हुने लक्ष्य संस्थाले लिएको छ । 

साथै, आगामी आ.ब.मा वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर जारी गर्नेछ ।