काठमाण्डौ ।
दिसापिसाबमा लतपतिएर दुर्गन्धित अवस्थामा हस्पिटलको बेडमा छटपटाइरहेको कुनै लावारिस व्यक्ति । भाग्न नपाओस् भनेर हातखुट्टामा पशुुलाई झै बाँधिएको छ । सुकेर सण्ठीजस्तै भएको मानिसको छेउमा जान समेत चिकित्सक, स्वास्थ्यकर्मीदेखि सर्वसाधारण समेत घिनाउँछन् । छिः छिः दूरको नियति सामना गरिरहेको, बोल्न नसक्ने र टोलाइरहने स्वभावका कारण हेर्दा कतै मानसिक रुपमा विक्षिप्त पो हो कि जस्तो लाग्ने । अव्यवस्थित सरकारी अस्पतालको शैयामा जिउँदो लाश भएर मूडो झै लडिरहेको छ । प्राणपखेरु उडिगए छेउमै रुने मान्छे समेत कोही छैन, न कुनै ठेगाना, न कुनै व्यक्तिगत जानकारी । फगत बेवारिस एउटा जिउँदो लाशको फोटो एकाएक फेसबुकको भित्तामा भाइरल भइदिन्छ । सबैले फेसबुके शैलीमा कठैबरा भन्छन्, सरकारी स्वास्थ्य संस्थालाई गाली गर्छन्, कसैले लाइक, कसैले डिसलाइक अनि धेरैले कमेन्ट । तर, यही पोस्टले कतिपय मनकारीहरुको मन छिया छिया पारिदिन्छ ।

...........................................................................................................................
काठमाण्डौको मुटु कमाउने ठिही, चकमन्न सडकहरु । बजार छेउछाउका रेष्टुरेन्टमा मात्र चहलपहल देखिन्छ । जाडो भगाउने भन्दै कोही मदिरापानमा व्यस्त, कोही डान्सबारमा । शहर आफ्नै तालमा मस्त भएको बेला थापाथलीबाट एउटा एम्बूलेन्स दौडिन्छ वीर अस्पतालतर्फ । दिसापिसाबले पुरिएर, दिसा सुकेर गुद्धद्वारदेखि शरीरका अन्य भागमा समेत खटिरा पलाई मर्नुु र न बाँच्नुको अवस्थामा रहेको व्यक्ति सायद छटपटाहटमा थियो । वीर अस्पताल अगाडि रोकिएको एम्बूलेन्सबाट केही व्यक्ति तल ओर्लन्छन्, सोझै वीर अस्पतालमा दुुर्गन्धित अवस्थामा रहेको बेवारिसे व्यक्तिलाई पशुु झै राखिएको बन्धनबाट उद्धार गर्छन् । कुनै घिन नमानी त्यहाँबाट उठाउँछन् र एम्बूलेन्समा हाल्छन् । फिल्मी दृश्य झै लाग्ने यी सारा वास्तविकतालाई हस्पिटलमा आएका बिरामी र उनका कुरुवाहरुले प्रत्यक्ष रमाइलो मानेर हेरिरहेका हुन्छन् । फिल्मी शैलीमा सो बेवारिस व्यक्तिलाई बोकेर एम्बूलेन्स फेरि हुुइँकिन्छ थापाथलीतर्फ । 

........................................................................................................................

छिप्पिदो चिसो रात । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको गेटमा व्यग्र प्रतिक्षाको मुद्रामा आफ्नी बोस मेगा चौधरी शाक्यलाई देख्ने कर्मचारीहरुले पनि सायद कुनै आफन्त, वा चिनजानको ठूलै व्यक्ति बिरामी परेर कुरिरहेको होला भन्ने सोचे होलान् । केहीबेरपछि उनको प्रतिक्षाको घडी समाप्त हुन्छ । वीर अस्पतालबाट हुुइँकिएको एम्बूलेन्स नर्भिकमा रोकिन्छ । र, हतार–हतार मेघा एम्बूलेन्सभित्रको दुुर्गन्धित र बेवारिस मान्छेलाई स्वागत गर्न पुग्छिन् । उनको स्वागतलाई मानिसक रुपमा समेत विक्षिप्त सो व्यक्तिले बुुझ्ने कुरै भएन । तर, नर्भिकका कर्मचारी र रमितेहरु भने एकछिन चकितै पर्छन् । सोधखोज गर्दा अनि पो थाहा हुन्छ, मेघाले वीर अस्पतालमा कन्तबिजोग अवस्थामा राखिएका ती बेवारिस व्यक्तिलाई उद्धार गरेर नर्भिक ल्याएकी रहिछन् । 

मेघाको निर्देशनपछि सो व्यक्तिको खातिरदारीमा नर्भिकका कर्मचारीहरुको व्यस्तता ह्वात्तै बढेको देखिन्छ । नुहाइदिनेदेखि लिएर लुुगा फेरिदिने र दुुर्गन्धित व्यक्तिलाई सामान्य अवस्थामा ल्याउने काम क्षणभरमै हुन्छ । सफाचट भएपछि सो व्यक्तिको प्रारम्भिक चरणको चेकजाँच र उपचार हुन्छ । उपचार, राम्रो सेवा र भरपेट खानापछि सो बेवारिस व्यक्ति निदाउँछ र राहातको श्वास फेर्दै मेगा लाग्छिन् निवासतिर । 
.......................................................................................................................
भोलिपल्ट बिहानै अस्पतालतर्फ दौडिएकी मेगा सोझै तिनै बेवारिस व्यक्ति भएको बेडमा पुग्छिन् । चमात्कार भएजस्तै, नबोल्ने जिउँदो लाश झै व्यक्ति निकै फ्रेस देखिन्छ । उनी छेउमा जान्छिन् र सोध्छिन्–‘दाई तपाईलाई कस्तो छ अहिले ?’ फिस्स हाँस्दै ती बेवारिस व्यक्तिको पहिलो आवाज सुनिन्छ–‘ठीकै छ ।’ १२ घण्टाअगाडि नबाँच्ला जस्तो अवस्थामा उद्धार गरिएको व्यक्तिले ‘ठीकै छ’ भन्दा मेगाको मन प्रफूल्लित हुन्छ । 

हामीले एउटा पुुण्य काम गरेकी मेगालाई बेवारिसे बिरामी वीर अस्पतालबाट उद्धार गरी नर्भिक ल्याएको बिषयमा कुराकानी गर्न राखेको प्रस्ताव सुरुमा ‘यो मेरो कर्तव्य हो, गरिरहेकै काम पनि हो, म प्रचारमा जाँन्न’ भन्दै अस्वीकार गरेकी मेघा हाम्रो पटक–पटकको अनुरोध टार्न नसकेपछि शनिवार बिहान आफ्नै निवासमा गफिन तयार भएकी थिइन् । सो क्रममा बेवारिसे अवस्थामा उद्धार गरिएका ती पुरुष बिरामीले ‘ठीकै छ’ भन्दा आफूलाई निकै ठूलो सन्तुष्टि र आनन्द अनूूभूत भएको उनले सुनाइन् । ‘ठीकै छ’ भन्ने आवाजले म निकै प्रफूल्लित भएँ । सायद जीवनमा कमै मात्र यस्तो क्षण छ, जसमा म यति धेरै सन्तुुष्ट भएको हुँला।’ उनले थपिन् । 

दया, करुणाको जिन आफ्ना पिता बसन्त चौधरीबाट उपहार पाएजस्तो मेगा पनि उस्तै दयावान र करुणामयी रहिछन् । कुराकानीको क्रममा पो थाहा भयो यस्ता धेरै बिरामी तथा गरीब र निमुखाहरुलाई उनले उद्धार गरेकी रहिछन् । बेवारिसे अवस्थामा भेटिएका केही बच्चालाई उद्धार गरेर विभिन्न स्कूलमा आफ्नै खर्चमा पढाउनेदेखि लिएर सेवाभावले सामाजिक काममा समेत उनी बुुबाको प्रेरणाले किशोरावस्थाबाटै नै सक्रिय रहिछन् । 

हामीलाई उनको समाजसेवाको कथासँगै वीर अस्पतालबाट उद्धार गरिएका बिरामीको थप कथा चाहिएको थियो । कुरा त्यसमै केन्द्रीत भयो । 

कसरी बाहिरियो यो विभत्स स्टोरी ?


मेघाका अनुसार सामाजिक सञ्जालमा कसैले पोस्ट गरेको अस्पतालको बेडमा रहेको बिरामीको कारुणिक तस्विरले उनको मन छोएको थियो । पोस्टसँगै बिरामीको उद्धार गर्नेको मोवाइल नम्बर पनि राखिएको थियो । पोस्ट हेरेलगत्तै सो मोवाइल नम्बरमा फोन गरेर उनले बेवारिसे ती बिरामीको बिषयमा सोधखोज गरेकी थिइन् । जानकारी लिने क्रममा वीर अस्पतालमा बिरामीको उपचार नभएको, पशुलाई झै बाँधेर राखिएको, खाना समेत नदिने गरिएको जस्तो जानकारी आएपछि भने ती बिरामीलाई सकेसम्म चाँडो उद्धार गर्ने हुटहुटी भएको रहेछ । यही हुटहुटीका कारण मेघाले पोस्ट हेरेको केही घण्टामै ती बिरामीको उद्धार गरेकी थिइन् ।

धन्न बच्यो ज्यान


वीर अस्पतालको शैयामा बाँधेर राखिएका बिरामीको उद्धार गर्दै दुुर्गानाथ दाहाल । 

मेघाका अनुसार यदि ती बिरामीको बेलैमा उद्धार नभएको भए ज्यान समेत जानसक्ने नर्भिकका चिकित्सकहरुले बताएका छन् । बिरामीको रगतमा अत्यधिक इन्फेक्सन रहेको, छातिमा दाग देखिएको, शरीरभरि घाउ र चोट भएका कारण त्यहाँ समेत इन्फेक्सन भएको, खाना तथा पानी खान नपाएर आन्द्रा सुुकेको, दिसापिसाबमै लड्नुुपर्ने अवस्थाका कारण गुद्धद्वार र वरिपरि घाउ नै घाउ भएको, रगतमा सोडियमको मात्रा अत्यधिक भएको, डायबिटिज निकै धेरै बढेको चेकजाँचको क्रममा पत्ता लागेको थियो । सबै स्वास्थ्य समस्याको उपचारपछि भने अब ती व्यक्ति खतरामुक्त रहेका मेघा बताउँछिन् । खाना नदिएर र आधारभूत हेरचाह नपुुगेर मात्र ती व्यक्तिको स्वास्थ्य यति धेरै बिग्रिएको मेघाको ठहर छ । 

को होलान् यी बेवारिसे व्यक्ति ?


उद्धार अघि र पछि मदन पोखरेल । 

नर्भिकको राम्रो सेवा र उपचार पाएपछि बल्ल उनीबाटै नाम र जिल्ला खुलेको छ । उनी रामेछाप जिल्लाका रहेका पत्ता लागेको मेघाको भनाई छ । हाल वार्डमा सिफ्ट भएका उनको नाम मदन पोखरेल रहेकोसम्म खुलेको छ । रामेछापको कुन ठाउँका हुन् र उनी काठमाण्डौ कसरी आइपुुगे भन्ने बिषयमा अझै पनि रहस्यकै गर्भमा छ । तर, वीर अस्पतालसम्म भने उनलाई बाटोमा कतै बिरामी अवस्थामा भेटेर प्रहरीहरुले लगिदिएका बुझिएको छ । 

परिवारसँग पुनर्मिलन गराउने सपना
मेघाले बेवारिसे अवस्थाका मदन पोखरेललाई उद्धार गरी ज्यान त जोगाइन् । तर, नर्भिकमा उपचार भई पूर्ण स्वास्थ भएपछि उनलाई कहाँ पठाउने ? ‘बिस्तारै उहाँको ठेगाना पनि खुल्ला, परिवारका सदस्यहरु पनि सम्पर्कमा आउलान् वा भेटिएलान् ।’ मेघाले बिजशालासँग भनिन्–‘मेरो इच्छा नै मदन दाईलाई उपचार गरी पूर्ण ठीक पारेपछि उहाँको परिवारजनसँग मिलन गराइदिने हो । यत्ति गर्न सकेँ भने मेरो मन निकै रमाउनेछ, सायद भगवानले पनि मलाई आशिर्वाद दिनुुहुन्छ कि?’ 

घरपरिवार भेटिएन भने नि ? मेघाले भनिन्–‘घरपरिवार छैन भने उहाँलाई राम्रो आश्रममा राख्नुपर्छ ।’

अस्पताल कि नर्क ?


वीर अस्पतालको बेडमा दिसापिसाबमा लतपतिएको अवस्थामा । 

वीर अस्पतालले पशुुलाई भन्दा विभत्स ढंगले बाँधेर यी बेवारिस व्यक्तिलाई राखेको थियो । सामाजिक सञ्जालमा दिसापिसाबमा लतपतिएको अस्पतालको बेडकै तस्विर सार्वजनिक भएको थियो । यो हृदयविदारक र कारुणिक तस्विर मुलुकको जेठो अस्पतालमा देखेपछि दुुर्गानाथ दाहाल नाम गरेका सामाजिक अभियन्ताले उनको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । दाहालको पोस्ट मेघाका एक साथीले सेयर गरेका थिए । त्यहीँबाट मेघाले ती व्यक्तिको कारुणिक अवस्था देखेकी थिइन् । ‘पहिला त मलाई अचम्मै लाग्यो, हड्डी मात्र भएको मान्छे, अस्पतालकै बेडमा दिसापिसाबमा लतपतिएको देख्दा पत्यार नै लागेन ।’ मेघाले भनिन्–‘तर पोस्टसँगै सम्पर्क नम्बर राखिएको दुुर्गानाथ दाहाललाई फोन गरेपछि मात्र वीर अस्पतालमा ती बिरामीको अवस्थाको बिषयमा पत्ता लाग्यो । दुुर्गा दाईका अनुसार ती व्यक्तिलाई अस्पतालले पशुुभन्दा पनि विभत्स ढंगले बाँधेर राखेको रहेछ । दुुर्गा दाईले अस्पतालका कर्मचारीलाई सोध्दा ‘भाग्छ भनेर बाँधेर राखेको’ भन्ने जवाफ दिएछन् । सरसफाई किन नगरेको भन्दा ‘कर्मचारी विदामा भएकोले’ भनेछन् । खाना किन नदिएको भन्दा ‘पैसा तिर्ने आफन्त नभएर’ भन्ने जवाफ दिएछन् ।’ दुुर्गा दाहालसँगको संवाद सुनाउँदै गर्दा मेघाको आँखामा आक्रोश मिसिइसकेको प्रष्टै देखिन्थ्यो । उनले केही चर्को स्वरमा भनिन्–‘सरकारी अस्पतालमा यस्तो पनि गर्नुुहुन्छ ? के गति गरेर राखेको बिरामीलाई ?यो त हदैसम्मको लापरबाही भयो नि । यो शहरमा कुुकुुर घाइते पर्यो वा बिरामी पर्यो भने रेस्क्यूू गर्ने टिम आउँछ, तर मान्छेको मूल्य त कुकुरको जत्ति पनि भएन नि । यो त अति भयो नि हजूर।’

‘हामीलाई बिरामी देऊ’ 
अस्पतालको निर्देशक समेत रहेकी मेघाले सरकारको नीति अनुरुप कुल बेड संख्याको १० प्रतिशत गरीब र असहायहरुका लागि उपलब्ध गराउन निजी अस्पताल तयार भए पनि सरकारको समन्वय नपुुगेको टिप्पणी गरिन् । ‘हामी सरकारको नीतिलाई मान्न र सो अनुसार सेवा दिन तयार छौ, तर खोई हामीलाई बिरामी दिएको ? असहाय र उपचार नै गर्न नसक्ने गरीबहरुको कमी छैन हाम्रो देशमा । तर, सरकारले सिफारिस नै गर्दैन, यहीकारण अहिलेसम्म सरकारको सिफारिसमा हामीकहाँ ४ जना बिरामी मात्र आएका छन् ।’ उनले आफूहरु सेवा दिन तयार रहेको र त्यस्ता बिरामी सिफारिस गरेर पठाउन सरकारी निकायलाई आग्रह गरिन् । नर्भिकको मात्र नभई अधिकांश निजी अस्पतालले यही समस्या भोगिरहेका समेत उनले सुनाइन् । 

मेघाका प्रश्नै प्रश्न !
सरकारी अस्पतालको दुुर्गति र त्यसमा नियमनकारी निकायहरुले आँखा चिम्लिएपछि एक जोशिलो युवा मेघाका मनहरुमा प्रश्नको वर्षा भएको छ । उनले बेला–बेला सरकारी निकायबाट नर्भिकमा पनि चेकजाँच आउने गरेको र कम्प्लेन गर्ने कुनै अवस्था नदेखेपछि ‘इमेरजेन्सीमा डस्टबिनको बिर्को किन नलगाएको ?’ भन्ने जस्ता प्रश्न सोधिने सुनाइन । उनको मनमा उब्जिएको पहिलो र दमदार प्रश्न–‘तपाईको आफ्नै हस्पिटल(वीर अस्पताल)मा डस्टबिन भन्दा बढी फोहोर गरेर बिरामी राख्दा चाहि त्यो हस्पिटल अनुुगमनको सूचिमा पर्दैन ? खालि निजी क्षेत्रलाई मात्र पेल्ने ?’ 

उनले सरकारी अस्पताललाई पनि जनताले विश्वास गर्न लायक बनाउनुुपर्नेमा जोड दिइन् । त्यसपछि उनको मनमा प्रश्नहरुको वर्षा नै भए–‘हामीले गरेको कुरालाई समेत नगरेको जस्तो गर्ने, तर सरकारी अस्पतालकै यस्तो दुुर्गतिमा किन आँखा चिम्लिइन्छ ? यो त भएन नि । सरकारी अस्पतालमा यसरी बिरामी राख्नुु ठीक हो ? बिरामी जोसुकै र जहाँसुकैको होस्, बेसिक केयर दिनुपर्छ कि पर्दैन ? कर्मचारी छुट्टीमा गएको छ भनेर दिसापिसाब समेत सफा नगरी बिरामीलाई बेडमा राख्न मिल्छ ? यो त अति भयो नि ।’   

छोरीको काममा बसन्त चौधरीले के भने ?
हामीले मेघालाई नै सोध्यौं–तपाईको यो कामप्रति बुुबा(बसन्त चौधरी)को कस्तो प्रतिक्रिया आयो ? मेघाले हाम्रो जिज्ञासा मेट्दै भनिन्–‘मेरो पापालाई मैले यसरी बेवारिसे बिरामीको उद्धार गर्दैछु भन्ने थाहा थिएन । उद्धार गरेर ल्याएको भोलिपल्ट मैले उहाँलाई यो बिषयमा सुनाएँ । त्यसपछि पापा खुशी हुनुुभयो र मलाई ‘तिमीले गरेको काम साह्रै ठूलो हो र यसमा मेरो फूल सपोर्ट छ, सधैं अगाडि बढ’ भन्नुुभयो । पापाको प्रतिक्रियाले म अझ बढी प्रेरित भए, आगामी दिनमा यस्तै काम गर्न पापाको प्रेरणाले मलाई शक्ति प्राप्त भएको छ ।’ 

बसन्त चौधरी स्वयम्ले आफ्नी एक मात्र सन्तानको यो कार्यको खुलेर प्रशंसा गर्दै फेसबुकमा आफ्नो प्रतिक्रिया पोष्ट गरेका छन् । उनले मेघाको कामबाट आफूलाई गौरव महसुुस भएको र आफूले थालेको सेवाको अभियानलाई छोरीले साथ दिएकोमा खुशी व्यक्त गरेका छन् । उनले पोस्ट यस्तो छ:

के होला मेघाको आगामी योजना ?


मेघाले आगामी दिनमा नर्भिक अस्पताललाई अझ बढी बिस्तार गर्ने सपना बुनेकी छिन् । आगामी २ वर्षभित्रमा नर्भिकले छुट्टै भवन बनाएर त्यहाँ स्त्री तथा प्रसूति रोग र शिशुुसँग सम्बन्धित सबै सेवा दिने योजना बनाएको छ । त्यसबाहेक समस्यामा परेका असहाय, गरीब र निमुखाहरुको उद्धार तथा सेवा गर्ने कार्यलाई समेत निरन्तर राख्ने मेघाले सुनाइन् । अस्पताल आफैंमा एउटा सेवामूलक व्यवसाय हो, नर्भिकबाटै पनि बिरामीको सेवा भइरहेको ठान्ने मेघाले आफूमा किशोरअवस्थादेखि नै बुुबा बसन्त चौधरीको प्रभाव परेको समेत सुनाइन् । ‘मेरो पापा र ममी नै दयालूू हुनुहुन्छ, मानिसहरुको दुःख हेर्न सक्नुुहुन्न ।’ उनले भनिन्–‘म पनि कसैको दुःख हेर्नै सक्दिँन । सायद ममा पनि त्यही जीन आएर हो कि ?’

उनले जीवनमा आफ्नो एक मात्र लक्ष्य आफ्नो पापाको सपना पूरा गर्नु रहेको उल्लेख गर्दै कुराकानीको बिट मारिन्–‘मैले दुखी गरीबको सेवा गरेबापत प्राप्त आशिर्वाद मेरो पापा र ममीको सुस्वास्थ्य र दिर्घायूूमा लागिदिए हुन्थ्यो । म अझै सेवाको कर्ममा यसैगरी समर्पित भइरहन्छु।’

समाचारमा प्रयोग गरिएका सबै तस्विरको स्रोत: मेघा चौधरी र दुुर्गाप्रसाद दाहालको फेसबुक