काठमाण्डौ । मनाङका प्रदेशसभा ख बाट प्रत्यक्षतर्फ निर्वाचित गुण्डा नाइके दीपक मनाङ्गे ५ वर्ष जेल जाने भएका छन् । योसँगै उनको प्रदेशसभा सदस्य पद समेत स्वतः खारेज भएको छ । 

सर्वोच्च अदालतले मंगलबार उनीविरुद्ध जारी कर्तव्यजानको मुद्धामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरिदिएको हो । 

सर्वोच्चको यो आदेशसँगै मनाङ्गेको सांसद पद स्वतः निलम्बनमा परेको कानून व्यवसायीहरुले प्रष्ट्याएका छन् । 

गुण्डानाइके मनाङ्गेलाई एमालेले टिकट नदिएपछि स्वतन्त्र रुपमा प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिएका थिए । उनले शानदार  मतसहित जित हासिल गरेका थिए, तर दुर्भाग्य प्रदेश सांसद पदको सपथ नलिंदै उनको पद खारेज भएको छ । 

सर्वोच्चले अर्का डन गणेश लामा लगायतलाई भने सफाई दिएको छ । 

दीपक मनाङ्गे समूहले ०६१ सालमा अर्का डन चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार प्रहार गरेको थियो । सोही घटनामा दोषी देखिएका मनाङ्गे समूहविरुद्ध प्रहरीले कर्तव्य ज्यानको मुद्धा दायर गरेको थियो । 

जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो । त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको थियो ।
सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरिदिएको हो ।