काठमाण्डौ । विश्वचर्चित सोसल मिडिया फेसबुकको बिषयमा भएको स्क्याण्डलले कम्पनीको ग्रोथमा क्षति पुर्याउन थालेको छ । बुधबार फेसबुकको दोश्रो त्रैमाससम्मको सेल्स तथा यूजर ग्रोथ अनुमान गरेभन्दा कम रहेको र कम्पनीले वालस्ट्रिटलाई यो वर्ष यो आँकडामा कुनै पनि सुधार नहुने बताएको कुरा बाहिर आएसँगै लगानीकर्ता निराश देखिएका छन् । फेसबुकका प्रमुख बित्त अधिकृत डेभिड बेहनरले भनेका छन् कि रेभेन्यू ग्रोथ रेट तेश्रो र चौथो त्रैमासमा अझ तल झर्नेछ, बढ्दैन । यो भनाईकै कारण फेसबुक कम्पनीको सेयर मूल्य २४ प्रतिशतसम्म घटेको सिएनएनले जनाएको छ । 

यसैगरी, ब्लुमबर्ग बिलेनियर्स इण्डेक्समा फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति मात्र २ घण्टाभित्र १६.८ अर्ब डलरले घटेको छ । यति मात्र होइन, एक दिनमै फेसबुकको बजार मूल्यमा करिब १५१ अर्ब डलरको नोक्सानी भएको छ । 

मार्क जुकरबर्गलाई यो वर्ष १३.७ अर्ब डलर फाइदा भएको थियो, यो फाइदा २ दिनको बजार गिरावटले शून्यमा झारिदिएको छ । जुकरबर्गको कुल सम्पत्ति ७० अर्ब डलरभन्दा कम भएको छ र उनी ब्लुमबर्गको अर्बपतिहरुको दैनिक सूचिको तेश्रो नम्बरबाट धकेलिएर छैठौ नम्बरमा पुगेका छन् । 

केही सालदेखिको कन्टेन्ट पोलिसी, प्राइभेट डेटा बचाउन विफल हुनु, तथा विज्ञापनकर्ताहरुका लागि आफ्नो नियम परिवर्तन गरेका कारण फेसबुकको लामो समयदेखि आलोचना भइरहेको छ। तर, यो हैरानीले उसको विजिनेशको सफलतामा नै चाहि हालसम्म नकारात्मक असर गरेको थिएन । 

रिपोर्टका अनुसार जुकरबर्गले २ दिनमा व्यहोरेको क्षति कतिपय अर्बपतिहरुसँग भएको सारा सम्पत्ति सकिएर टाट पल्टेजस्तो क्षति हो । किनभने विश्वमा यस्ता धनाढ्य पनि छन्, जसको कुल सम्पत्ति नै १६ अर्ब डलरको हाराहारीमा छ ।