काठमाण्डौ । धितोपत्र बजार सञ्चालक नेप्सेले मल्टीपल डिम्याट खाता सञ्चालन र ब्रोकर एजेन्सी मोडलका लागि नियामक नेपाल धितोपत्र बोर्डलाई प्रस्ताव गरेको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार कुनै एक व्यक्ति वा संस्थाले हाल बढीमा २ वटा मात्र डिम्याट खाता खोल्ने व्यवस्था रहेकोमा नेप्सेले २ भन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्थाका लागि १ महिनाअघि प्रस्ताव गरेको हो। 

योसँगै शाखारहित ब्रोकर सेवा सञ्चालनका लागि पनि प्रस्ताव बोर्डमा पेश गरिएको  नेप्सेका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । 

दुर्गम भेगमा बसोबास गरी आइपीओमा लगानी गरेकाहरुले १०–२० कित्ता सेयर बिक्रीका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहिआएकाले त्यस्ता स्थानहरुमा ब्रोकर एजेन्सी मोडल सफल हुने भएकाले बोर्डलाई प्रस्ताव गरिएको प्रमुख साउदले जिकिर गरे । 

डिम्याट खाता पनि बैंक खाताजस्तै भएको, बरु यसले सिडिएससीको आम्दानी बढ्ने साउदको तर्क छ । अनलाइन कारोबार प्रणालीमा मल्टीपल डिम्याट खाता भएमा जोसुकै ब्रोकरबाट सहजै कारोबार गर्न सक्ने र अनलाइन स्लो पनि नहुने उनको भनाई छ । यहीकारण समेत मल्टिपल डिम्याटको व्यवस्थाका लागि बोर्डमा प्रस्ताव गरिएको हो ।

ब्रोकरहरुलाई शाखारहित सेयर खरिदबिक्रीका लागि आधिकारिक प्रतिनिधि तोकेर गर्न पाउने धितोपत्र कारोबार ऐन,२०६३ मा भएको व्यवस्थालाई नै टेकेर बोर्डसमक्ष प्रस्ताव गरिएको साउदको जिकिर छ । 

मल्टिपल डिम्याट र शाखारहित ब्रोकर सेवाको विषयमा नेप्सेबाट गरेको प्रस्तावमा भएको डेभलपमेन्टको विषयमा बोर्डका अधिकारीहरुले कुनै सूचना दिन चाहेनन् ।