काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार (जेठ २)बाट दुई अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८०’ को बिक्री खुलाएको छ ।

जेठ २२ गतेसम्म खरीदका लागि आवेदन दिन सकिने बचतपत्र जेठ २८ गते निष्काशन हुने जानकारी बैंकले दिएको छ । 

सबै नेपाली नागरिकले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको बचतपत्रमा आम्दानी कर भने लगानीकर्ताले तिर्नुपर्नेछ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने बैंकको सूचनामा उल्लेख छ ।

कम्तीमा पनि दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने रकमका लागि आवेदन गर्न सकिने व्यवस्था राष्ट्रबैंकले गरेको छ । 

बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने समेत विशेषता छ । हाल लगानी गरिएको साँवा रकम लगानीकर्ताले २०८० जेठ २८ गते फिर्ता पाउनेछन् । 

बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरुबाट निःशुल्क आवेदन फारम उलब्ध हुने जानकारी राष्ट्रबैंकले दिएको छ । यसका साथै फारम केन्द्रीय बैंकको वेबसाइटमार्फत पनि डाउनलोड गर्न सकिनेछ । 

स्टक वा प्रमिशरी नोटको रुपमा लिन सकिने बचतपत्र खरीद गर्ने समयमा नै स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको किसिम आवेदन फारममा खुलाउनु पर्नेछ । रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्कासन मितिको ७ दिनभित्र फिर्ता गरिने जानकारी बैंकले दिएको छ ।