काठमाण्डौ ।  सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको हो ।

देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट दुई करोड थान एलइडी बल्ब किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।

मन्त्रिपरिषद्मा तीन महिना पहिले पेस भएको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको समेत स्वीकृतिमा पारित गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए।

गत फागुन ३ गते बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतले नेपाललाई सस्तो मूल्यमै नै एलइडी बल्ब उपलब्ध गराउने सहमति जनाइएको थियो ।

प्राधिकरणले भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडबाट एलइडी बल्ब खरिद गर्ने योजना बनाएको छ ।

ग्राहकले विद्युत्को महसुल तिर्न आउँदा नै बल्ब उपलब्ध गराउने प्राधिकरणको योजना रहेको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

भारतीय रुपैयाँ ६५ प्रति बल्ब पर्ने भए पनि विभिन्न कर तथा भन्सार शुल्क जोड्दा १२५ पर्नेछ । खुला बजारमा सो बल्बको मूल्य ३५० देखि ४०० सम्मपर्ने गरेको छ ।

एलइडी बल्ब खरिदका लागि रु दुई अर्ब खर्च हुने ऊर्जा मन्त्रालयको भनाइ छ । दुई करोड थान एलइडी बल्ब वितरण गर्न सकिए २०० मेगावाट विद्युत् बचत हुने र सरकारको ४० अर्ब बचत हुने जनाइएको छ ।

ती बल्ब सात र नौ वाटका छन् । प्राधिकरणका अनुसार एलइडी बल्बले चार गुणासम्म बिजुली बचत गर्छ । १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश पाँच वाटको एलइडीले दिने प्रवक्ता अधिकारीले बताए।