काठमाण्डौ । दुई दिनसम्म लगातार बढेको बजार बुधबार भने घटेको छ । नेप्से परिसूचक ७.५७ अंकले घटे पनि कारोबार रकम भने बढेर ५३ करोड माथि पुगेको छ । 

यसले बजारमा लगानीकर्ताहरु खरीदबिक्रीमा बढी नै सक्रिय बन्न थालेको देखाउँछ । नेप्से परिसूचकमा एकल अंकको करेक्सन देखिए पनि कारोबार रकममा निकै राम्रो बढोत्तरीले बजार लयमा फर्किँदै गरेको देखिने विश्लेषकहरुले बताएका छन् । 

उनीहरुका अनुसार बुधबारको बजारको गिरावट सामान्य र स्वभाविक करेक्सन हो । बजार बढेको मौका छोपेर थोरै भए पनि प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीका कारण बजार घटेको हो । 

योसँगै नेपाल बैंकले यो वर्ष लाभांश दिने संभावना नरहेको समाचारले समेत सो बैंकको सेयरमूल्य घटाइदिएको छ । बैंकको सेयरको बिक्रीमा चाप समेत देखियो । 

नागरिक लगानीकोषको पूँजीवृद्धिको विषय, एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा गरेको प्रगतिको खबर, अपर तामाकोशीको बढ्दो मूल्य लगायतका कारणले कारोबार रकम निकै माथि पुगेको हो ।

घटेर ११८७.९७ को विन्दूमा सीमित भएको बजारमा सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घट्यो भने फ्लट इण्डेक्समा समेत ०.३९ अंकको गिरावट देखियो ।

यो दिन तीन समूहको सूचकमा सामान्य बढोत्तरी भए पनि बाँकीको सूचकमा रातो पोतियो ।

व्यापार समूह १.८६ अंकले बढेको यो दिन जलविद्युत समूहमा २२.८३ अंक र उत्पादनमूलकमा २.८९ अंकको वृद्धि भयो । 

बैंकिङ समूह ५.२ अंकले घट्यो भने विकास बैंक समूहमा १.४१, होटल समूहमा २.४४, वित्त समूहमा २.३२, निर्जीवन बिमा समूहतर्फ ११२.१८, जीवन बिमा समूहमा ७३.०४, माइक्रोफाइनान्स समूहमा १५.६८ र अन्य समूहमा १२.६१ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका १७ लाख ४४ हजार १ सय ८७ कित्ता सेयर ५३ करोड ६ लाख ५१ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भयो । यो दिन बैंकको ८ करोड ८१ लाख बढीको सेयर किनबेच भयो ।

नागरिक लगानीकोषले ६ करोड ५८ लाख बढीको सेयर कारोबार गरेकोमा माछापुच्छे बैंकको ३ करोड ४० लाख बढीको संस्थापक सेयरको समेत यो दिन किनबेच भयो ।

एनआइसी एशियाले ३ करोड ९ लाख बढीको कारोबार गरेको यो दिन माछापुच्छे बैंकको २ करोड ५७ लाख बढीको साधारण सेयर समेत किनबेच भयो । 

छिमेक लघुवित्तले १ करोड ९२ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकको १ करोड ९१ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो ।

प्रिमियर इन्स्योरेन्सले १ करोड ३२ लाख बढीको कारोबार गरेको दिन साना किसान विकास बैंकले १ करोड २० लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि धेरै कमाउनेमा अपर तामाकोशीकै लगानीकर्ता अगाडि देखिए । यो कम्पनीको सेयर १० प्रतिशतको हाराहारीमा बढेपछि पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य बढेर रु. २८३ पुगिसकेको छ ।

नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयर मूल्यमा ९.३८ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन सबैभन्दा बढी गुमाउनेमा एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडका लगानीकर्ता देखिए । यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफामा ४३.१८ प्रतिशतको गिरावट व्यहोरेका कारण लगानीकर्ता कम्पनीको सेयर बिक्री गर्न प्रेरित बने ।