काठमाण्डौ । नेपाल राष्ट्रबैंकले देशका वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउने बाटो खोलिदिएसँगै दुुई वाणिज्य बैंकहरुले ऋण ल्याउन थालेको प्रक्रियालाई तीव्र बनाएका छन्। 

केन्द्रीय बैंकको संचालक समितिले विदेशबाट ऋण ल्याउनसक्ने नीतिगत निर्णय गरेलगत्तै विदेशबाट ऋण ल्याउन आवेदन दिएका एनएमबी बैंक र एनआइसी एशिया बैंकले प्रक्रियालाई तीव्र पारेका हुन् ।

उनीहरुको प्रक्रिया बिना रोकावट अगाडि बढ्यो भने चालु आर्थिक वर्षभित्रै यी दुुई बैंकले ४ अर्ब ऋण भित्र्याउने छन् ।  

वाणिज्य बैंकहरुले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशी ऋण लिन पाउने व्यवस्था रहेकोमा पहिलो चरणमा एनएमबी बैंकले १ अर्ब ५० करोड रुपैयाँ भित्र्याउने गरी विश्व बैंक अन्तरगतको अन्तराष्ट्रिय बित्त निगम(आइएफसी)सँग सम्झौता गरिसकेको छ । 

उता, एनआइसी एशियाले भने राष्ट्रबैंकले गरेको व्यवस्था अनुसार १० अर्ब प्राथमिक पूँजीको २५ प्रतिशतले हुन आउने २ अर्ब ५० करोड ऋण भित्र्याउने प्रयास थालेको छ । 

एनएमबी बैंकले आइएफसीसँग डेढ अर्ब ऋण भित्र्याउन सम्झौता गरिसकेकोले यो बैंकले विदेशबाट ऋण भित्र्याउने पहिलो वाणिज्य बैंक बन्ने निश्चित झै छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले राष्ट्रबैंकमा आफूहरुले ऋण ल्याउनका लागि आवेदन दिईसकेको र सबै प्रक्रिया बिना रोकावट अगाडि बढे १ महिनाभित्र डेढ अर्ब ऋण भित्र्याउने बताए ।

एनआइसी एशिया बैंकका प्रवक्ता सुधिरनाथ पाण्डेले चाहि बैंकले अढाई अर्ब विदेशी ऋण भित्र्याउन केन्द्रीय बैंकमा आवेदन दिइसकेको उल्लेख गर्दै केही प्रक्रियागत जटिलता र नयाँ व्यवस्थाका केही अस्पष्टता समाधान गर्न समय लाग्ने भएकोले जेठ मसान्तसम्म विदेशी ऋण भित्र्याउन सकिने बताएका छन् । 

बैंकहरुले विदेशबाट ऋण भित्र्याउनका लागि केन्द्रीय बैंकमा आवेदन दिइसकेपछि त्यहाँका अधिकारीहरुले यो बिषयमा अध्ययन गर्नेछन् । राष्ट्रबैंकबाट स्वीकृति पाइसकेपछि जुन बैंकबाट ऋण ल्याउने हो, त्यहाँबाट एउटा विज्ञको टोली नेपाल आई ऋणको प्रस्ताव गरेको बैंकको डिडिए गर्नेछ, उसको बित्तीय अवस्था तथा देशको अवस्था समेत अध्ययन गरी निर्णय लिनेछ । जब सो विज्ञ समूहले हरियो झण्डा देखाउँछ, तब मात्र नेपाली बैंकले ऋण ल्याउन पाउनेछन् । यस्तो पूर्वतयारी कम्तीमा १ महिना मात्र सकिन्छ।