काठमाण्डौ । दुई बैंक र एक फाइनान्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि (बुधबार) देखि बुक क्लोज गर्न लागेका सिन्धु विकास बैंक, ज्योति विकास बैंक र गुडविल फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । आजसम्म कायम सेयरधनीहरुमाध यी संस्थाका साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

सिन्धु विकास बैंकले आफ्नो १० औँ वार्षिक साधारणसभा यही पुस २९ गते गर्दैछ ।

सभामा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वितरणयोग्य अन्य कोषबाट हालसम्म कायम चुक्तापुँजीको कुल १२.०८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले चुक्तापुँजी ५० करोड २७ हजार ३१६.७५ रुपैयाँको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार ६८२.२५ रुपैयाँबराबरको बोनस सेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७ ८ हजार ६३४.११ रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ । 

यसैगरी ज्योति विकास बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा पनि पुस २९ गते गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १२ प्रतिशत बोनस सेयर अनुमोदन हुनेछ । सभामा बोनस सेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्ताव पनि स्वीकृत हुनेछ ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित हुनेछ ।

यस्तै गुडविल फाइनान्सले पनि आफ्नो २५ औँ वार्षिक साधारणसभा पुस २९ गते गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरिएको चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन हुनेछ ।