काठमाण्डौ । पछिल्लो समय अनलाइन कारोबार गर्नेको संख्यामा ह्वात्तै बढेका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज शुक्रबार प्रकाशित तथ्यांकअनुसार हालसम्म अनलाइन युजर र आईडी लिई सेयर खरिदबिक्री गर्नेको संख्या ५७ हजार १५६ रहेको छ। जुन दुई साताअघि नेप्सेले सार्वजनिक गरेको तथ्यांकको तुलनामा १० हजार १३० ले बढी हो। यसअघि नेप्सेले यो संख्या ४७ हजार २६ रहेको जनाएको थियो। 

यसैगरी दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्यासमेत उल्लेख्य बढेर २ लाख ७८ हजार १०१ रहेको नेप्सेले जनाएको छ।

सबैभन्दा धेरै अनलाइन युजर बाँड्ने ब्रोकर कम्पनीको अग्रपंक्तिमा स्टक ब्रोकर नम्बर ४२ शनि सेक्युरिटिज रहेको छ। जसले ४ हजार २४४ अनलाइन युजर बाँडेको छ। 

दोस्रोमा स्टक ब्रोकर नम्बरमा नासा सेक्युरिटिज र तेस्रोमा स्टक ब्रोकर कम्पनी ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनी परेका छन्। जसले क्रमशः ४ हजार ७३ र ३ हजार ८३१ अनलाइन युजर वितरण गरेका छन्। 

पछिल्लो समय कोभिड १९ संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा लगानीकर्ताहरुले समेत अनलाइन युजर आईडी र पासवर्ड लिई सेयर खरिदबिक्री गर्ने जमात बढ्दै गइरहेको छ। यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीहरुसमेत सेयर बजारमा आकर्षित हुँदा पछिल्लो समय दिनानुदिन अनलाइन कारोबारीको संख्यामा उछाल आइरहेको हो।

यस्तै पछिल्ला समयमा ठूलो परिमाणमा आईपीओको जनलहर सिर्जना भइरहेकाले समेत प्राथमिक बजार हुँदै दोस्रो बजारमा सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको संख्या वृद्धि भइरहेको बताइन्छ।