काठमाण्डौ । दोश्रो बजारको बिषयमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुका लागि सामूहिक लगानीकोष(म्युचुअल फण्ड) एक उत्तम विकल्प हो । बैंकबाट पाउने रिटर्नभन्दा यस्ता कोषहरुको  रिटर्न राम्रो हुने भएकाले नेपाली बित्त बजारमा समेत यस्ता फण्डहरुप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ । संचालनमा रही परिपक्व भएको फण्डले समेत राम्रो  रिटर्न दिएकोले भविष्यमा समेत राम्रो  मुनाफा हुने आशामा लगानीकर्ता यस्ता फण्डप्रति आकर्षित हुँदै आएका छन् । 

यही क्रममा माघ २ मंगलबार(आज)देखि दुई कम्पनीले २ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्डको इकाई निश्कासन गरेका छन् । 

एनआइसी एशिया क्यापिटल लिमीटेडको म्युचुुअल फण्ड अन्तरगतको पहिलो स्कीम ‘एनआइसी एशिया ग्रोथ फण्ड’ र सिटिजन्स बैंकको सहायक कम्पनी सिबीआइएल क्यापिटल लिमीटेडको सिटिजन्स म्युचुुअल फण्ड अन्तरगत संचालन हुने ‘सिटिजन्स म्युचुुअल फण्ड १’ का २ अर्ब बढीका इकाई निश्कासन गरेका हुन् । 

एनआइसी एशियाको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालन हुन लागेको ७ वर्षे बन्दमुखी स्किम एनआइसी एशिया ग्रोथ स्किमले १० रुपैयाँ दरका १० करोड इकाई निश्कासन गरेको छ । इकाई खरीदका लागि इच्छुकहरुले माघ २ देखि ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म पनि पर्याप्त आवेदन नपरे ढिलोमा माघ २१ गतेसम्मका आवेदनहरु लिइने बताइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । यसको अर्थ साथमा १ हजार रुपैयाँ हुनेले समेत म्युुचुुअल फण्डमा आवेदन दिन पाउनेछन् । चिया खर्चमा सामान्य कटौति गर्नसक्ने विद्यार्थीहरुले यो फण्डमा लगानी गरे अझ राम्रो हुनेछ ।

निश्कासित कुल इकाईमध्ये एककरोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको हो ।

पछिल्लो समय म्युचुुअल फण्डहरुमा लगानीकर्ताको राम्रो आकर्षण देखिएको छ । यहीकारण यदि एनआइसीको यो फण्डमा समेत मागभन्दा बढी आवेदन परे १ अर्बको कोषको आकार १ अर्ब २५ करोडसम्म तन्काउन सकिनेछ । 

म्युचुुअल फण्डका इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु सम्पर्क गर्न सकिनेछ ।

यसैबीच, सिटिजन्स बैंकको सहायक कम्पनी सिबीआइएल क्यापिटल लिमीटेड सिटिजन्स म्युचुुअल फण्ड अन्तरगत संचालन हुने सिटिजन्स म्युचुुअल फण्ड-१ लाई बोर्डले समेत १ अर्बको इकाई निश्कासन गर्दैछ ।

सिटिजन्स म्युचुुअल फण्ड १ को १० रुपैयाँ दरका १० करोड इकाईहरुको निश्कासन पनि अब माघ २ गतेदेखि नै हुनेछ । इच्छुक लगानीकर्ताले मा ७ गतेभित्र(छिटोमा) इकाई खरीदका लागि आवेदन दिइसक्नुुपर्नेछ । सो अवधिमा मागजति आवेदन नपरे ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।  कुल निश्कासन हुने १० करोड इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईको सार्वजनिक निश्कासन गरिएको बताइएको छ । 

कुल १ अर्ब रुपैयाँको स्किममा बढी आवेदन परे २५ प्रतिशतसम्म आकार बढाउन सकिनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् ।

आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा तिनका शाखाबाट दरखास्त फारम लिने तथा दर्ता गर्ने काम गर्न सकिनेछ ।