काठमाण्डौ । कच्चा तेल उत्पादन गर्ने देशहरुको संगठन अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज(ओपेक)ले कच्चा तेलको उत्पादन जुलाई महिनादेखि दैनिक १० लाख ब्यारेलको दरले बढाउने सहमति कायम गरेका छन् । भियनामा भएको बैठकपछि ओपेकका इनर्जी मन्त्रीले भनेका छन् कि अतिरिक्त मागलाई पूरा गर्न कच्चा तेलको उत्पादन बढाउने निर्णय गरिएको हो । कमोडिटी एक्सपर्टहरुले उत्पादन बढेपछि कच्चा तेलको आपूर्ति बढ्नेछ र त्यसपछि मूल्यमा गिरावट आउनेछ । आगामी २ महिनाभित्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८ डलरसम्म सीमित हुन सक्नेछ । यसले नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्य समेत घट्नेछ ।

ओपेक सदस्यसँगै रुस समेत जुलाईबाट दैनिक १० लाख ब्यारेल कच्चा तेलको उत्पादन बढाउने बिषयमा सहमत भएको छ । 

सन् २०१४ को नोभेम्बरपछि पहिलोपटक कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ८० डलर प्रतिब्यारेल माथि पुगेको थियो । विगतमा ओपेक देश तथा रुसले कच्चा तेलको उत्पादनमा गरेका कटौति, इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धपछि आपूर्ति घट्ने त्रास आदि कारणले तेलको भाउ बढेको थियो । इरान कच्चा तेलको तेश्रो ठूलो उत्पादक देश हो । यसबाहेक भेनेजुएलाबाट समेत कच्चा तेलको आपूर्तिमा कमी आउनु समेत यसको एउटा कारण थियो । 

अन्तर्राष्ट्रिय क्षेत्रका केही कमोडिटी विज्ञहरुले उत्पादन बढाउने निर्णयसँगै आगामी दिनमा कच्चा तेलको मूल्यमा गिरावट आउनेछ । अमेरिकामा पहिलादेखि नै कच्चा तेलको उत्पादन उच्च विन्दुमा छ । त्यसमाथि ओपेक र ननओपेक देशबाट उत्पादन बढाउँदा आपूर्ति बढ्नेछ र त्यसको सोझो असर मूल्यमा पर्नेछ । आगामी अगस्ट वा सेप्टेम्बरसम्म कच्चा तेलको मूल्य घटेर ६८ डलर प्रतिब्यारेलसम्म आइपुग्ने विज्ञ दाबी गर्छन् । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७४ डलर रहेको छ ।