काठमाण्डौ । तोकिएको नियामक शुल्क भुक्तानी नगरेका कारण दुई ब्रोकरलाई नेपाल स्टक एक्सचेञ्जले कारोबार गर्न प्रतिबन्ध लगाएको छ । 

नेप्सले आइतबार एबीसी सेक्युरिटिज प्राइभेट लिमीटेड र मार्केट सेक्युरिटिज प्राइभेट लिमीटेडलाई ०.६ प्रतिशत नियामक शुलक भुक्तानी नगरेका कारण कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को नियम ३२ अनुसारको नियामकीय दस्तुर समयमै नबुझाएका कारण ती २ ब्रोकरको कारोबारमा रोक लगाइएको नेप्सेका अधिकारीहरुले बताएका छन् । 

नियमावलीमा ब्रोकरेजको काम गर्ने कम्पनीले प्राप्त गर्ने कमिसनको ०.६ प्रतिशत रकम नियामकीय शुल्कको रुपमा बुझाउनुपर्ने प्रावधान छ ।

नियमावलीमा यस्तो शुल्क प्रत्येक आर्थिक वर्ष सकिएको एक महिनाभित्रमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था रहे पनि यी दुई ब्रोकर कम्पनीले अटेर गरेपछि कारबाहीमा परेका अधिकारीहरुले बताएका छन् । 

कारबाहीमा परेका यी २ ब्रोकरले ०.६ प्रतिशत नियामकीय शुल्क बुझाएपछि मात्र नेप्सेले कारोबारमा लगाएको प्रतिबन्ध फुकुवा गरिदिनेछ । 

यसैबीच, यी २ ब्रोकर कार्यालयको लापरबाही र बेवास्ताका कारण सयौं लगानीकर्ता आइतबार कारोबार गर्न बञ्चित भएका छन् । ती ब्रोकर कार्यालयमा सम्बद्ध सयौं लगानीकर्ताले कारोबार गर्न नपाउँदैका परिणाम दोश्रो बजारमा दोहोरो अंकको गिरावट देखिएको विश्लेषकहरु बताउँछन् ।