-एकराज पाठक 
काठमाण्डौं । अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन । 

उहाँले आफ्नो प्रशासनको प्रतिष्ठासँग जोडेर प्राथमिकतामा राखेको मेक्सिकोसँगको पर्खाल निर्माणको निकास गत जनवरी २५ मा गरेको हस्ताक्षरले दिँदैन । सरकारी खर्चसम्बन्धी संसदले पारित गरेको विधेयकमा उहाँले हस्ताक्षर त गर्नुभयो तर त्यो तीन हप्ताका लागि मात्र भनेर । यसरी अहिलेका लागि सरकारी खर्चको गाँठो यही फेब्रुअरी १५ तारिखसम्म फुकेको मात्र हो । 

विश्वकै एक शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपतिकै आफ्नो माग पूरा नहुँदा अमेरिकामा ३५ दिन देखि सरकारी खर्च ठप्प हुन पुगेको थियो । यस अवधिमा संघीय निकायका करिब ८ लाख कर्मचारीहरूले विना तलब काम गरिरहेका थिए । जुन आर्थिक गतिरोध अमेरिकी इतिहासकै सबैभन्दा लामो समयको हो भनिएको थियो । 

आफ्नै सरकार तथा संसदसमक्ष अमेरिकी राष्ट्रपति ट्रम्पको एक बेजोड माग– छिमेकी देश मेक्सिकोसँगको पर्खाल हो । जुन उहाँको आफ्नो राष्ट्रपतीय निर्वाचन र त्यसयताकै एउटा प्रमुख एजेण्डा हो । आफू सत्तामा आएपछिकै पहिलो प्राथमिकतामा परेको हो यो पर्खाल । जसले बेला बेलामा अमेरिकी राष्ट्रपतिलाई तनाव तथा विवादमा ल्याइ नै रहेको हुन्छ । 

यसलाई विपक्षी डेमोक्र्याटिक दल, केही आफ्नै रिपब्लिकन सदस्य र देशवाशीहरु सम्भव ठान्दैनन् । तर राष्ट्रले जतिजति यस एजेण्डालाई सम्भव ठान्दैन त्यति नै यो राष्ट्रपति ट्रम्पको प्रष्ठिानको प्रश्न बन्दै जाने गर्दछ । राष्ट्रपति ट्रम्पको यो पर्खालसम्बन्धी मागलाई तल्लो सदनमा निर्णायक हैसियतमा रही आएको विपक्षी डेमोक्र्याट पार्टीले अस्वीकार गर्दै आएको छ । सोही कारणले यसको बदलास्वरुप राष्ट्रपति ट्रम्पले पनि खर्च गर्ने अनुमति राकिदिनुभएको हो । 

संसद र विपक्षी पर्खाललाई बजेट छुट्याउनेमा सहमत भइसकेका छैनन् तर पनि राष्ट्रपति ट्रम्पले भने यही फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरिदिनुभएको छ । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने नै अहिलेका लागि उहाँको मुख्य माग हो । 

राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माणका लागि अहिलेलाई करिब ६ अर्ब अमेरिकी डलर बजेट छुट्याउन माग गर्नुभएको छ । संसदले सो बजेटको व्यवस्था नगरेसम्मका लागि सरकारी खर्चसम्बन्धी प्रस्तावलाई रोक्दै आएको छ । खर्च अनुमति सहजै नदिने ट्रम्पको विगतदेखिकै चेतावनी हो । तर अमेरिकी विपक्षी दलका नेताहरूसँगको छलफलपछि सिनेटमा एकमतले सरकारी निकायहरूलाई आगामी ३ साताका लागि मात्र खर्चको कोष दिने सहमति गत २५ जनवरीमा भएको हो र त्यसैबमोजिम राष्ट्रपति ट्रम्पले सो विधेयकमा हस्ताक्षर गर्नुभएको हो । 

राष्ट्रपति ट्रम्पले सन् २०१६ को आफ्नो निर्वाचन अभियानको मुख्य एजेण्डा नै यही सिमा निर्माणलाई बनाउँदा त्यसताका अमेरिकीहरु खुबै हासेका थिए । अहिलेको विश्वले पर्खालले छेकेर नछेकिने उनीहरुको भनाई थियो । अहिले पनि उनीहरु आफ्नो कुरा राष्ट्रपति ट्रम्पले नसुनेको गुनासो गर्छन् र पर्खाल निर्माण सम्भव छैन भनिरहेका छन् । फेरि विपक्षीको यो कुरा सुन्न पनि राष्ट्रपति ट्रम्प तयार हुनुहुन्न । 

यसरी राष्ट्रपति ट्रम्प नै पर्खाल निर्माणको आफ्नो पुरानो एजेण्डाबाट पछि नहटेपछि यतिखेर यो पर्खालको बारेमा विश्वाव्यापी रुपमा चासो बढेको देखिन्छ । त्यो पर्खाल कत्रो हो र त्यसको लागत कति हो भन्ने विषयको खोजी यतिखेर लगभग संसारभरि नै गरिएको पाइन्छ । त्यही पर्खालकै वरिपरि नै अहिले अमेरिकाको राजनीति फन्फनी घुमिरहेको देखिन्छ । 

मेक्सिकोसँगको सिमानामा बन्ने भनिएको सो पर्खालाको लम्बाई करिब ३ हजार १०० किलोमीटर रहेको छ । यति क्षेत्रमा बन्ने त्यो पर्खाल करिब २५ देखि ३० फिट अग्लो र पाँचदेखि सात फिट चौडाइको हुनेछ । अहिलेका लागि गरिएको अनुमान यही हो । देशले यति धेरै खर्च कदापि गर्न सक्दैन र यस्तो अनुत्पादक क्षेत्रमा खर्च गर्नुपनि हुँदैन भन्नेमा अधिकांश अमेरिकीको मत छ । 

यसको लागतको अनुमानमा मतैक्यता देखिँदैन । कतिपयले यो पर्खाल १२ देखि १५ अर्बसम्ममै तयार हुन्छ भनेका छन् भने कतिपयको अनुमान त्यो भन्दा निकै धेरै छ । अमेरिकी मिच म्याक केनलले यसको लागत १२ देखि १५ अर्बसम्म हुने अनुमान गरेका छन् । अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोष्टले छ महिनाअघि गरेको एक सर्वेक्षणले यो पर्खालको अनुमानित लागत २५ देखि ३० अर्ब डलर भनी सार्वजनिक गरेको छ । तर यहाँका इन्जिनियरहरुको अनुमान भने त्यो भन्दा अझै धेरै छ । उनीहरुले यसको लागत कम्तीमा ४० देखि ५० अर्ब डलर बराबर लाग्छ भन्ने छ । तर यसको खर्चको स्रोत भने यहाँ कतै उल्लेख गरिएको छैन । 

त्यसो त पर्खाल कति किलोमीटर बनाउने भन्ने कुरा नै अझै स्पष्ट छैन । यसको करिब ३ हजार १०० किलोमीटर लम्बाई भएपनि कति क्षेत्रमा पर्खाल बनाउनुपर्ने भन्ने यकिन छैन । राष्ट्रपति ट्रम्प यसमध्ये कैयौँ स्थानमा प्राकृतिले नै पर्खालको काम गरेको छ जस्तो भीर, डाँडाहरु रहेकोले ती स्थानमा बनाउनु नपर्ने बताउनु हुन्छ । त्यसैले पर्खाल निर्माण गरिनुपर्ने लम्बाई नै यकिन छैन भन्दा हुन्छ । 

पर्खाल निर्माण गर्नैपर्ने कारण चाहिँ राष्ट्रपति ट्रम्पले अमेरिका छिर्नेे अवैध आप्रवासीहरुको चाप रोक्न हो भन्ने गर्नुभएको छ । र उहाँकाअनुसार धेरैजसो आप्रवासीहरु मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् । त्यसमा पनि मेक्सिकनहरु धेरै छन् । उहाँको परिभाषामा मेक्सिकी र यसरी अवैध रुपमा प्रवेश गर्ने नागरिकबाट अमेरिका असुरक्षित हुन थालेको छ । यहाँ बढीजसो हुने गरेका गोलीकाण्ड र लुटपाटका घटनामा यीनै आप्रवासीको बढी हात रहेको छ । त्यसैले यहाँ हत्या, हिंसा र लुटपाटका घटना रोक्नका लागि सबैभन्दा पहिला मेक्सिकन र त्यसपछि त्यो बाटो हुँदै अमेरिका छिर्ने आप्रवासीहरु रोक्नुपर्छ । 

आप्रवासी छिर्न रोक्ने यो पर्खाल त यी दुई देशको सिमा क्षेत्रमा भयो । तर अमेरिकी राजनीतिलाई फनफनी घुमाएको अर्काे एक सांकेतिक पर्खाल उत्तर र दक्षिण अमेरिकाको बीचमा छ । त्यो मेक्सिकोको सिमाकोजस्तो नापो र खर्चको होइन तर सांकेतिक भएपनि अमेरिकी राजनीतिलाई केही मात्रामा भने बेरेकै छ । 

केही वर्ष यताको अमेरिकीको एउटा ठूलो चासो उत्तर कोरिया पनि हो । यसै हप्ताको एक सम्बोधनमा राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो– यदि मैले गतवर्ष उत्तर कोरियाली नेता किम जोङ उनलाई नभेटेको भए यतिखेर अमेरिका र उत्तर कोरिया युद्ध गरिरहेका पनि हुनसक्थे । उहाँले भनेजस्तै युद्ध नै त हुन्थ्यो या हुदैनथ्यो तर उत्तर कोरियाको आणविक परीक्षणले अमेरिकीको मनमा युद्धको त्रास भने जमाएको हुनसक्थ्यो । 

गत जुन १२ मा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको भेटपछि कोरियाली प्रायद्धीपमा शान्ति छाएकै छ । यसले अमेरिकीमा युद्धको त्रास हटाउन नसकेपनि घटाएको चाहिँ छ । उत्तरले निशस्त्रीकरणमा प्रतिबद्धता गरे अनुसार केही मात्रामा पालना गरेकै देखिन्छ । यसले महिनै पिच्छेका उत्तर कोरियाली आणविक परीक्षण र त्यहाँका नेताको धाकधम्कीपूर्ण वक्तव्यका समाचारलाई रोकिदिएकै छ र सम्भावित युद्धको त्रासलाई केही हदसम्म भए पनि दुर गरेको मान्नुपर्छ । 

एकाध बाहेक सबैजसो दक्षिण कोरियालीहरु उत्तर र दक्षिण कोरियाका बीचका हालको पर्खाल पूर्वी र पश्चिमी जर्मनीको बर्लिनको पर्खाल झैँ ढलाउन चाहन्छन् । यसको प्रार्थना यतिखेर दक्षिणका कैयौँ चर्चहरुमा जारी छ । तर यो काम न दक्षिण र नत उत्तरकै नागरिकले मात्र चाहेर सम्भव छ । त्यसमा अमेरिकी भूमिका सर्वत्र जगजाहेरै छ । उत्तर र दक्षिणका जस्तै अमेरिकी नागरिक पनि त्यो पर्खाल ढलेको राम्रो मान्छन् । 

सिमामा पर्खालजस्तै उत्तरसँगको बढी हिमचिम पनि अमेरिकी विपक्षीहरुको अनिच्छाको विषय हो । यद्यपि किमसँगको भेट राष्ट्रपति ट्रम्पको एउटा साहसिक निर्णय त हो नै । त्यसैले यता जसरी पर्खाल निर्माणमा राष्ट्रपति ट्रम्पले अडान लिइरहनुभएको छ, त्यस्तै दृढता उता दुई कोरियाबीचको पर्खाल ढाल्ने काममा लिन सक्नुभएन भने यहाँको राजनीति अरु कैयौँ वर्ष यसैगरी दुई पर्खालले घेरिइरहने छ । यसै महिना भियतनाममा हुन लागेको किमसँगको दोस्रो शिखर भेटअघि राष्ट्रपति ट्रम्पका लागि यो एक महत्वपूर्ण सुझाव हो ।