काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेको भीडमा दुई फाइनान्स कम्पनी पनि थपिएका छन् । 

मंगलबार सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सले आफ्ना सेयरधनीलाई क्रमशः २२.५ र १७ प्रतिशत सेयर लाभांशको घोषणा गरेका हुन् । 

भदौ ३१ गते सम्पन्न सेन्ट्रल फाइनान्स लिमीटेडको २१५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई २२.५ प्रतिशत सेयर र कर प्रयोजनका लागि १.१८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको नेप्सेमा मंगलबार प्रकाशित सूचनामा उल्लेख छ । 

बोर्डको यो घोषणाले नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । गत वर्ष यो फाइनान्स कम्पनीले ३३ प्रतिशत बोनस सेयर वितरण गरेकोथियो । 

यो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा ७ करोड ९१ लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी २४ करोड ६७ लाख रुपैयाँ रहेको छ । घोषित बोनस सेयर वितरणपछि चुक्तापूँजी ३० करोड २२ लाख रुपैयाँ पुग्नेछ । 

यसैगरी, आइसीएफसी फाइनान्स लिमीटेडले आफ्ना लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट यो कम्पनीले आफ्ना सेयरधनीलाई १७ प्रतिशत सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट समेत पारित भएपछि घोषित लाभांश लगानीकर्ताले पाउनेछन् । 

गत वर्ष आइसीएफसी फाइनान्सले १०.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

आइसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा १५ करोड ३७ लाख खूद नाफा आर्जन गरेको थियो । यो संस्थाको चुक्तापूँजी ६८ करोड ५२ लाख रुपैयाँ रहेको छ । घोषित बोनस सेयरको व्यवस्थापनपछि चुक्तापूँजी ८० करोड १६ लाख रुपैयाँ पुग्नेछ ।