काठमाण्डौ । धितोपत्र बोर्डले दुईवटा कम्पनीलाई ४८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको छ । 

बोर्डले लिबर्टी इनर्जी कम्पनी लिमीटेड र यूनाइटेड मार्दी एण्ड आरबी हाइड्रोपावर लिमीटेडलाई आइपीओ निश्कासनको अनुमति दिएको हो । 

लिबर्टी इनर्जीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ३७ करोड ५० लाख रुपैयाँको आइपीओ निश्कासन अनुमति पाएको छ । 

सर्वसाधारणका लागि १५ र आयोजना प्रभावितका लागि १० गरी कुल पूँजीको २५ प्रतिशत बराबरको आइपीओ बिक्री गर्न लागेको हो । 

लिबर्टी इनर्जी कम्पनीले १६०० किलोवाटको लोडोखोला स्मल हाइडोपावर प्रोजेक्ट, २४.६ मेगावाटको बढीगड खोला हाइडोपावर प्रोजेक्ट, २५ मेगावाटको अपर दोर्दी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी अध्यक्षको रुपमा कार्यरत छन् । यस्तै, आत्माराम घिमिरे, सुशील थापा, रामबहादुर पाण्डे, राजेन्द्र वस्ती बोर्ड संचालकको रुपमा रहेका छन् । 

यस्तै, यूनाइटेड इडी मार्दी एण्ड आरबी हाइडोपावर लिमीटेडलाई बोर्डले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ४ करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर आयोजना प्रभावितका लागि र १५ प्रतिशतले हुन आउने ६ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने अनुमति पाएको हो । 

यो जलविद्युत कम्पनीले हाल कास्कीको मार्दी खोलामा ७  मेगावाटको अपर मार्दी हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । 

लिबर्टी इनर्जीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ भने यूनाइटेड इदी मार्दीको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ ।