काठमाण्डौ । सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन्।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका–७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण हुन लागेका हुन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो। 

मध्य सोलु खोला जलविद्युत् आयोजना मिड सोलु हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो। यस्तै पेगु खोला भने बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो। नदी प्रवाहमा आधारित दुवै आयोजना साना जलविद्युत्अन्तर्गतका आयोजना हुन्। 

मध्य सोलु खोला आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेशनमा जोडिन्छ। पेगु खोलाको विद्युत् भने ३३ केभी क्षमताको १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत प्राधिकरणको सिङ्गटी सबस्टशेनमा जोडिन्छ। आयोजनाका बारेमा कुनै जानकारी दिनुपरे विभागमा सम्पर्क राख्न अनुरोध गरिएको छ।