काठमाण्डौ । नेपालमा सार्वजनिक यातायातका रुपमा रहेका भाडाका ट्याक्सी यात्राका लागि निकै सहज हुन्छ । छिटो गन्तव्यमा पुग्न अन्य सार्वजनिक यातायातका साधनभन्दा ट्याक्सी बढी आरामदायी र भरपर्दो पनि हुन्छ ।

कतिपय अवस्थामा ट्याक्सीमा यात्रा गर्दा सुरक्षाको विषय अगाडि आउने गरेको छ । यात्रुको मात्रै होइन ट्याक्सी चालकको सुरक्षालाई लिएर बेलाबेलामा आवाज उठ्ने गरेको छ ।

कहिलेकाहीँ ट्याक्सी चालक आफैँ खराब प्रवृत्तिका यात्रुबाट लुटिने वा बाटोमा कसैले रोकेर लुट्ने क्रम पनि छ । त्यस्तै ट्याक्सीमा यात्रारत यात्रुका सामान छुट्नेजस्ता घटना नभएका पनि होइनन् ।

यिनै घटना परिघटनाका कारण बेलाबेलामा ट्याक्सीमा सीसीटीभी राख्नुपर्ने आवाज उठ्दै आएको छ । तर नेपालमा हालसम्म यो परिकल्पना भएजस्तो लाग्दैन ।

यता खाडीमुलुक दुबईका सबै ट्याक्सीमा भने यात्रु र चालकको सुरक्षाका लागि सीसी क्यामेरा जडान गर्ने काम भएको छ ।

दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ । ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले जनाएको छ ।

दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन् । दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासा सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ प्रणाली जडानको कार्य सन् २०१७ मा शुरु भएको र हाल दुबई शहरका सबै ट्याक्सीमा जडान भइसकेको पनि उहाँले जानकारी दिनुभयो । दुबईले हाल “खुशी जनता” र स्मार्ट सिटी अभियान सञ्चालन गरिरहेको छ । – एजेन्सी