-प्रकाश बञ्जारा
देशमा दशैंको मेलोमेसो निख्रिदैँ गए पनि प्रवासमा रहनेहरुलाई जहिले छुट्टि त्यहीबेला दशैँ आउँछ । मंगलबार परेको यसपालीको दशैंको टिका थोरै नेपालीले त्यही दिन जमरा समेत आफ्नै कोठामा राखेर थापे भने कतिले दशैंको खुशियाली साट्ने शुक्रबारकै प्रतिक्षा गर्नुपर्ने अवस्था छ ।  

यसपाला पनि लाखौँ निधारलाई खालि नै राखेर दशैँ हामीबाट जाँदैछ । यसपाला खाली भएका निधारमध्ये धेरैले अर्को सालको बाचा राखेका छन् ।

अर्को साल के हुने हो कसलाई पो थाहा छ र ? देशमा पनि कता हो कता आर्थिक समुन्नति भएको देखिँदैन, उता आर्थिक समुन्नतिको नारा बोकेका सरकार र सँसदका सदस्य नै विभिन्न काण्डमा मुछिएर देशकै बदनाम गराउन अभ्यस्त देखिन्छन् । त्यसमाथि जब दशै आउन लाग्छ दशैँ मनाउन घर जाने नेपालीको चाप एयरपोर्टमा निकै बढ्छ । 

खाडीबाट नेपाल आउने विमानको संख्या कम भएकै कारणले पनि सामान्य भन्दा दोब्बर मूल्यको हवाई टिकट खरिद गरेर नेपालीहरु हिन्दुहरुको महान पर्व विजया दशमी मनाउन देश जान्छन् । पर्देशी जिन्दगी खाडीमा काम गर्ने धेरै नेपालीले २ बर्षभन्दा कममा परिवारसँग समय बिताउने अवसर पाउँदैनन् । यति भनिरहँदा केही भाग्यमानी नेपालीहरु पनि छन् जो हरेक बर्ष १ महिनाको छुट्टी मनाउन देश जाने अवसर पाउँछन् भने कत्ति त सालमा २ पटक पनि जान पाउँछन्, तर सबैलाई यस्तो अवसर हुँदैन ।

यस्ता परिश्रमीलाई परिवारबाट टाढा बस्नुको पीडा केही न केही रुपमा मात्रै भए पनि हल गर्न केही कमाउन व्यक्ति र सँस्थाले मनोरञ्जनको नारा दिँदै सांस्कृतिक कार्यक्रम आयोजना गर्छन्, केही नाफा गर्छन्, केहीले घाटै व्यहोर्छन् ।

केही नेपालीले दशैंको दिन जबरजस्ति छुट्टि मिलाउँछन् र साथीभाईसँग केही रमाइलो वातावरण मिलाएर मनोरञ्जन गर्छन केहिले परिवारको याद र पहिलेको चाडबाडको सम्झना भुलाउन आफ्नो कामको चापबाट मुक्ति लिन एक दिन काम नै छोडिदिन्छन् । कतिको त ५–६ दिन पछिको दशैं अघिल्लो शुक्रबार नै सकिन्छ छुट्टिको मौका मिलाएर । सामान्यतया यसरी नै बित्छन् खाडीमा नेपालीको चाडपर्व । माघेसँक्रान्ति, साउने संक्रान्ति, वैशाखे पूर्णिमा, जस्ता सानातिना चाडपर्व त कहिले आउँछन् कहिले जान्छन् पर्देशी नेपालीलाई पत्तो समेत हुँदैन । 

पंक्तिकारले चाहि यसपालि अलिक फरक दशैंको महशुस गर्यो, खाडी देशकै सुचिमा पर्ने सयुक्त अरब ईमिरेट्जसको दुवईमा । 

बिहीबारको  रात, शुक्रबारे छुट्टि भएकै कारण निन्द्राको पर्वाह नगरी दुवईको अलकुजस्थित डल्स्को कम्पनीको रँगशालामा भेला भइयो । दुवईबाट झण्डै २५० किमी टाढा फुजेरा, रासअल खेमा, अबुधावी जस्ता शहरबाट आफ्नो काम सकेर झण्डै ८ सयको हाराहारीमा नेपालीहरु त्यहाँ भेला भएका थिए । रातको ९ बजेबाट भेला भएका यी नेपालीहरु दुवई शहरमा भेला भईरहेका विभिन्न राजनीतिक पार्टीको झण्डा बोक्ने भन्दा निकै फरक थिए ।

नेपाली झण्डा मिसिएका रँगिबिरंगी जर्सीमा सजिएर आएका यी नेपालीलाई भेट्ने र दशैंको शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको रहेछ हिमालयन बैंकको रेमिट्यान्स कम्पनी हिमाल रेमिटले । 

बुझ्दै जाँदा पोखरा–११ फुटवल क्लवले युएईमा छरिएर रहेका खेलकुदप्रेमीलाई लक्षित गरेर हिमाल रेमिट दशैं कप फुटवल प्रतियोगिताको आयोजना गरेको रहेछ । सोही प्रतियोगितामा भाग लिन र फुटवल खेल्ने नेपालीहरुको हुल मैदानमा लामवद्घ भयो विश्वकप फुटबल जस्तै । टाढाबाट आएका नेपालीले खाडीको हपहप गर्मीमा प्रशस्त पसिना बगाउँदै आफनो खेलको मनोरन्जन लिए । हिमाल रेमिट लेखिएका प्रतिनिधिहरु मञ्चको वरपर कार्यक्रम व्यवस्थापन गर्न उद्यत थिए भने हिमाल रेमिटका युएई प्रमुख कमल पराजुली माईक समातेर उपस्थित दर्शक दिर्घा र खेलाडीको मनोवल बढाईरहेका थिए । 

‘रेमिट गरौँ हिमालबाट, खाता खोलौँ हिमालयन बैँकमा’ माईकबाट बारम्बार सुनिइरहयो । युएईका विभिन्न प्रान्तबाट भेला भएका खेलाडी र दर्शकहरुको भीड निन्द्राको पर्वाह नगगरी पूरा रात खेल भईरहेको रँगशालामै बिताइदिए । जम्मा १७ टिम सहभागी भएको खेलमा सबै समूहले आफ्नो जितको लागि प्रतिस्पर्धा गरिरहे । 

निरन्तरको १४ घण्टा भन्दा माथि चलेको खेलमा नेपाल सोसियल एण्ड स्पोट्र्स ग्रुपले हिमाल रेमिट दशैं कपको उपाधि हात पार्यो भने काष्टमाण्डप टिमले दोस्रोमा चित्त बुझायो । उता इनासलाई फेयर प्लेको अवार्ड प्रदान गरियो । विजेता र उप विजेताले क्रमश ५००० र ३००० दिरामको पुरस्कारका साथमा कप र मेडल पाए । 

थेरैमात्र भए पनि यस्ता आयोजनाले विदेशिनुको पीडालाई कम गराएको महशुस धेरैले गरे । परदेशमै भए पनि पौरख गर्ने नेपालीहरुले दुःख गरेर घरपरिवारमा नयाँ नाना र हर्ष भित्राएका छन् । देशको परिस्थितिले कोल्टो फेरे धेरैले देशमै बसेर परिवारसँग दशैको खुशी साटासाट गर्ने मौका भविष्यमा पाउन सक्ने थिए ।