- प्रकाश बन्जारा

युएई । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विश्वका लगानीकर्ताका लागि नेपाल अब सुरक्षित रहेको बताउँदै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

दुबईमा आयोजना भएको ‘एयर शो’मा सहभागी हुन यहाँका उपराष्ट्रपति तथा प्रधानमन्त्री महम्मद विन रसिद अल मक्तुमको निमन्त्रणामा युएई आएका मन्त्री पोख्रेलले अन्तर्राष्ट्रियस्तरमा नेपालको राजनीतिक स्थितरताको बयान गर्दै नेपालमा लगानीका प्रशस्त अवसर रहेको बताए । नेपाली राजदूतावास र नेपाली बिजनेस काउन्सिल युएईले दुबईमा संयुक्त रुपमा आयोजना गरेको नेपालमा लगानीका अवसर नामक कार्यक्रममा मन्त्री पोखे्रेलले नेपालमा कृषि, पर्यटन, हाइड्रोपावरलगायतका क्षेत्रमा नेपालमा उच्च लगानीको वातावरण भएको बताए।

मन्त्री पोख्रेलले विषेशगरी अर्गानिक कृषिमा लगानी गर्न र उच्चतम फाइदा उठाउन युएईका लगानीकर्तालाई आग्रह गरे । ‘नेपालको मलिलो माटोबाट कृषिमा उच्चतम फाइदा गर्न सकिन्छ’, उनले भने, “नेपालको कृषि क्षेत्रमा लगानी गर्न हामी सँधै स्वागत गछौँ ।”

हवाईमार्ग तथा रोडमार्गबाट सहज ढुवानी गर्न सकिने हुँदा लगानीकर्ताले बजारका बारेमा चिन्ता लिन नपर्ने बताउँदै मन्त्री पाख्रेलले नेपालमा लगानी गर्ने लगानीकर्तालाई करको भार थोरै रहेकाले पनि फाइदा लिन सकिने बताए । “नेपालमा सूचना प्रविधि, सर्भिस, कृषि, हाइड्रोपावरलगायतका क्षेत्रमा लगानीका अवसर छन् । तपाइँहरु आएर ढुक्कले लगानी गनुहोस्, लगानीको वातावरण हामी बनाउँछौँ”, उनले भने।

नेपालले मनाउन लागेको भ्रमण वर्ष २०२० नजिकिँदै आएको उल्लेख गर्दै मन्त्री पोख्रेले ट्राभल्स तथा टुरिजममा लगानी गर्न लगानीकर्तालाई हौसाए । ‘नेपालको टुरिजम इन्फाक्चरमा थुप्रै लगानीका अवसर छन् । युएईमा रहेका ट्राभल्स तथा टुरिजम कम्पनीले भ्रमण वर्षका अवसरलाई सदुपयोग गरेर धेरैभन्दा धेरै फाइदा लिन सक्छन्’, उनले भने।

पोख्रेलले बन्दै गरेको निजगढ विमानस्थल साथै हिमालयनमा सुरु गरिएको ईमेर्जेन्सि रेस्क्यु स्मरण गराउँदै पर्यटनलाई बढावा दिन भ्याए ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै नेपाली सिजनेश काउन्सिलका अध्यक्ष डा आसिफ अली सिद्घिकीले नेपालको अलौकिक सुन्दरताको बयान गर्दै नेपालमा प्रशस्त अवसरको सिर्जना भएको बताए ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईका लगानीकर्तालार्ई नेपालमा आकर्षण भएमा नेपाली दूतावासले भरपुर प्रक्रियागत सहयोग गर्ने वचन दिए । उनले युएईमा व्यावसाय गरिरहेका नेपालीलाई समेत नेपालमा लगानीका लागि हौसाउन भ्याए ।

विजनेश काउन्सिलको निमन्त्रणामा विभिन्न देशमा बिजनेस काउन्सिका प्रतिनिधिसहित युएईमा रहेर व्यावसाय गर्ने नेपालीको ठूलो उपस्थिति थियो ।

युएई नेपालको तेस्रो ठुलो ट्रेडिङ पार्टनर हो । नेपाल र युएईको पुरानो सम्बन्ध छ । यहाँ ५ लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

नेपाल सरकारले यसअघि नै दुबईमा सञ्चालन हुन लागेको ‘वर्ड एक्पो २०२०’ मा नेपालको सहभागिता पक्का गरिसकेको छ । युएईमा व्यापार गरेर बस्ने नेपालीको पनि निकै ठूलो जमात नै छ । ढिलो–चाँडो थुप्रै नेपाली देशमै लगानीको वातावरण खोजेर बसेका छन् । जसका लागि सरकारले उचित करप्रणालीका साथै लगानीका मार्ग प्रशस्त गर्नुपर्ने यहाँका नेपालीले भन्दै आइरहेका छन् ।