काठमाण्डौ । स्थापनाको छोटो समयमै अन्तराष्ट्रिय उडान थप्ने कार्यमा छलाङको गतिमा अगाडि बढेको हिमालय एयरलाइन्सले काठमाण्डौ-दुबई रुटमा आफ्नो पहिलो उडान भरेको छ ।

दुबईका लागि पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौबाट १०:४० (स्थानीय समय)मा प्रस्थान गरी दुबईको अलमकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा १३:२५(स्थानीय समय)मा अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ । 

हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रबार उडान गर्ने हिमालय एअरलाइन्सले तीन एअरवस A-320-214 मध्ये एउटा एअरवस यस मार्गमा सञ्चालन गर्नेछ, जसमा ८ वटा बिजिनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको छ ।

दुबईको उडान गन्तव्यको बिषयमा हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एअरलाईन्सका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए । उनले नयाँ रुटमा सुरु भएको उडानबाट मध्य-पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमा थप बढावा  हुने विश्वास गरेका छन् ।

उनले भने–‘काठमाण्डौ-दुबई बीच निरन्तर सेवा प्रदान गर्ने हाम्रो पूर्वनिर्धारित लक्ष्य थियो, जसलाई प्राप्त गर्दा हामी अत्यन्त उत्साहित छौ, यसले युएईमा हाम्रो उडान सञ्चालनलाई अझ मजबूत तुल्याउनेछ ।’

एयरलाइन्सले काठमाण्डौ-दुबई-काठमाण्डौका लागि आकर्षक टिकटदर समेत कायम गरेको छ ।
एअरलाईन्सले Fishtail Travel and Tourism LLC, दुबईलाई युनार्ईटेड अरब अफ इमिरेट्सका लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछ ।