-प्रकाश बञ्जारा
यूएई । दुवई आफैंमा एउटा पूर्ण देश होइन, यो संयुक्त अरब ईमिरेट्सको एउटा प्रान्त अर्थात प्रदेश हो, हाम्रो नेपालको कर्णाली, गण्डकी या त अन्य नामाकरण नभईसकेका प्रदेशहरुजस्तै । तर, पर्याप्त जानकारी अभावमा तथा सजिलोको भाषामा हामी र हाम्रा नेपालीहरु युएईको जुनसुकै कुनामा भएता पनि आफू दुवईमै छु भन्ने गरेको पाईन्छ, झनै नेपालमा रहेका आफन्तले त सजिलो र सहज दुवई मुखैमा झुण्डिएको हुन्छ । 

नामाकरण नभईसकेका भर्खरै जन्मिएका प्रदेशजस्तै युएईमा पनि ७ वटा जवान प्रदेशहरु छन् । अनि यूरोपजस्तै शैलीमा विकास भइरहेको भनेर सुनेको भरमा दुवई आउने तीव्र ईच्छा हुनेहरु र युएईको बारेमा पूर्ण जानकार नहुँदा म्यानपावर कम्पनीहरुले बिभिन्न झूठा प्रलोभन देखाएर फ्रि भिषा फ्रि टिकटको नाममा मोटो रकम लिने र अन्य फस्टाएका दलालहरुले दुवईमा पुगेको एक हप्तामा काममा लगाउँछु भन्दै धेरै नेपालीलाई यहाँ ल्याएर बिचल्ली पार्ने गरेका घटना बढ्दै गएका छन् । यहीकारण हामी आज दुबई आउन चाहनेको हितलाई ध्यानमा राखी यहाँ काम पाईने प्रक्रियाबारे बुझ्न सहजीकरणको प्रयास गर्दैछौ । 

कसरी पुग्ने यूएई ?
वैदेशिक रोजगारीका लागि आउने मुख्य माध्यम भनेको रितपूर्वक दर्ता भई मानव संसाधनको काम गरिरहेका म्यानपावर कम्पनीहरु पहिलो प्राथमिकतामा पर्छन् । प्रक्रियागत हिसावमा बुझ्ने हो भने म्यानपावर कम्पनीको युएईमा रहेका कम्पनीसँगको सम्पर्कपछि कम्पनीले आफूलाई आवश्यक परेको जनशक्ति विवरण र त्यो जनशक्तिलाई दिने तलव सुविधाको साथमा कामको प्रकृतिसहितको डिमाण्ड नेपालस्थित म्यानपावरलाई उपलब्ध गराउँछ । नेपाल सरकारको पछिल्लो नियम अनुसार धेरै कम्पनीले कामदारलाई दुःख दिने प्रकृतिका घटना बढेपछि कम्पनीले पठाउने डिमाण्डलेटर सोही देशमा रहेको नेपाली नियोगबाट प्रमाणिकरण गरेर मात्र नेपालस्थित मेनपावर कम्पनीमा पठाउनुपर्ने हुन्छ । त्यसो भयो भने नेपाली नियोगले त्यो कम्पनीको ब्याकग्राउण्ड चेक गर्ने तथा कम्पनीको काम र सतहको बारेमा बुझ्ने मौका पाउँछ । 

सम्बन्धित कम्पनीबाट डिमाण्ड पाईसकेपछि म्यानपावरले श्रम बिभागबाट पूर्व स्वीकृति लिएर अन्तर्वार्ता र कामदार छनौट प्रक्रिया अगाडि बढाउँछन् । सम्बन्धित काममा दक्ष कामदारले म्यानपावर कम्पनीमा डिमाण्ड लेटर आइसकेपछि कम्पनीकै प्रतिनिधिबाट नेपालमा हुने अन्तर्वार्तामा सामेल भएर युएई आउने प्रक्रियाको थालनी गर्छन । धेरै जसो सिपको कामको लागि कम्पनीका प्रतिनिधिले सिप परिक्षण र अन्य योग्यताको समेत जाँच गर्छन र दक्षताको आधारमा छनौट गर्छन । तर, कतिपय ननस्कील जागिरका लागि भने बायोडाटा र शैक्षिक योग्यताको प्रमाणपत्रका भरमा पनि बिनाअन्तर्वार्ता भिषा उपलब्ध हुनसक्छ । त्यस्तो काममा जस्तै फ्याक्ट्रि वर्कर, हेल्पर, लेवर, क्लिनिङ्ग वर्कर जस्ता कामहरु हुन्छन् । तर चलेका अन्तराष्ट्रिय ख्याति पाएका कम्पनीहरुले आफ्ना कामदार उत्कृष्ट हुन् भन्ने चाहाना राख्छन् र धेरै कम्पनीले फेस टु फेस अन्तर्वार्तामा सफलता हासिल गर्नेलाई मात्र छनौट गर्छन । 

अन्तर्वार्तामा सफल भइसकेपछि स्वास्थ्य परिक्षण, चारित्रिक शैक्षिक प्रमाणपत्र र अन्य आवश्यक कागजात बुझाउनुपर्छ र युएईको कम्पनीले ती प्रमाणपत्रको जाँच गरी भिषाको आवेदन प्रक्रिया अगाडि बढाउँछ । 

म्यानपावर कम्पनीबाट प्रक्रिया अगाडि बढाउने कामदारको सम्पूर्ण काम त्यहीँबाट गरिने हुँदा भिषा जारी भइसकेपछि आधिकारिक तालिमकेन्द्रबाट अभिमुखीकरण तालिम बाहेक कामदारले अन्य कुनै पनि काम गर्नुपर्दैन । म्यानपावरले नै तपाईको बिमा, श्रम स्वीकृति, टिकट सम्बन्धी काम गरिदिन्छ । सम्झौता विपरीत काम तथा तलव सुविधा नपाएमा रितपूर्वक आएका कामदारले सम्बन्धित बैदेशिक रोजगार बिभागमा रिट निवेदन दिए क्षतिपूर्ति  समेत पाउने भएकाले कामदारले सम्पूर्ण कागजपत्रहरु सुरक्षित राख्नुपर्छ।

काम गर्ने मनशायले भिजिट भिषामा आउनु कत्तिको सुरक्षित छ ?
युएई सरकारले यहाँ भएका आवासीय भिषाधारीलाई आफ्ना आफन्त तथा परिवारका सदस्यलाई घुमाउन अथवा भेटघाट प्रयोजनका लागि मात्र भिजिट भिषाको व्यवस्था गरेको छ । तपाईका युएईमा रहेका आफन्तले तपाईका लागि लङ्गटर्म भिजिट भिषा ३ महिनाको र सर्टटर्म भिजिट भिषा १ महिनाको लागि आवेदन दिन सक्छन् । अर्को, बिजिनेश तथा पर्यटकीय भिषामा आउनेहरुका लागि १ महिनाको टुरिस्ट भिषा जारी हुन्छ । हालै युएई सरकारले काम खोज्नैका लागि युएई आउने आप्रवासीलाई ६ महिना सम्मको भिषा जारी गर्ने घोषणा समेत गरेको छ । 

पछिल्लो समयमा युएईमा रहेका कम्पनीहरुले आफूलाई आवश्यक पर्ने दक्ष जनशक्ति युएईमै पाउन थालेपछि कामदारका डिमाण्डहरु नेपालमा अत्यन्तै कम जाने गरेका छन् । युएई आउन चाहाने आकांक्षीहरु धेरै हुने र डिमाण्ड कम हुने हुँदा मौकाको फाइदा लुट्ने नेपालमा रहेका बिचौलियाहरुले युएईमा रहेका दलालहरुसँग मिलेर बेरोजगार युवा जनशक्तिलाई गएको एकहप्तामै काम मिलाइदिने भन्दै अनेक बाहानामा टुरिस्ट भिषामा युएई ल्याउने र बिचल्ली बनाउने गरेका घटनाहरु प्रशस्तै भेटिएका छन् । यसरी ठग्न पल्किएकाहरुले युएईमा गएपछि काम नपाउञ्जेलसम्म बस्ने खाने सम्पूर्ण खर्च आफैँले व्यहोर्ने भन्दै बिभिन्न आश्वासनमा युएईसम्म ल्याउने र पैसा उठाएपछि दुवै पक्षका दलालहरु सम्पर्कबाट भाग्ने गरेका घटना तपाईहरु कत्तिलाई थाहा नभए पनि नयाँ भने होइनन् । 

अफ्रिकन, फिलिपिन्स, ईन्डिया लगायतका देशबाट भिजिट भिषामा आएर कामको खोजीमा रहेका निकै प्रखर जनशक्तिका बीचमा कामको खोजीमा आउने नेपालीहरु अँग्रेजी बोलचालको भाषामा होस् या त कामको अनुभवको आधारमा होस् कमजोर नै भएको पाइन्छ । त्यहाँमाथि नभएर कामदारको खोजीमा रहेको कम्पनीले अनुभवी र दक्ष कामदारलाई छोडेर फ्रेस जनशक्तिलाई नियुक्ति पनि कमै दिन्छन् । नेपालमा बुझाउनुपर्ने पैसा नेपालकै दलालले लिने र भिजिट भिषाको प्रावधान अनुसार आफ्नो साथमा ल्याउनुपर्ने १ हजार डलरसमेत युएईमा रहेको अर्को दलालले विमानस्थल उत्रनासाथ हात पार्ने भएपछि ठूला सपना बोकेर आएका नेपालीको गोजी खाली जस्तै हुन्छ । 

अहिलेसम्मको सरदर तथ्याङ्ग हेर्ने हो भने काम लगाइदिन्छु भनेर दलालहरुले २ लाखदेखि लिएर ३ लाख ५० हजार दिरामसम्म पैसा लिने गरेको पाइएको छ, तर तीमध्येका धेरै काम नपाएपछि आफ्नो भिषाको अवधि सकिएसँगै नेपाल फर्किसकेका छन् भने कोही कोही भाग्यमानीले काम पाएर यतै टिक्ने व्यवस्था मिलाउँछन् । 

युएई तथा दुवईको बारेमा सामान्य जानकारी समेत नभएका र बायोडाटा बनाउन समेत अरुको सहायता लिनुपर्ने कत्ति त बायोडाटा भनेको के हो भन्ने समेत जानकारी नभएका थुप्रै नेपालीहरु काम गर्ने मनशाय लिएर लाखौँ तिरेर पर्यटकीय भिषामा आएर पैसा डुबाएर नेपाल फर्किसकेका छन् भने कत्ति नेपाली अहिले पनि कन्तविजोकको जिन्दगी बाँचिरहेका छन् । 

बिजशालाले गरेको अध्ययनअनुसार धेरैजसो युएईमा भएका दलालहरु १ हजार डलर हात पार्नकै लागि विमानस्थलमा रिसिभ गर्नसम्म जाने र ल्याएर कुनै कोठामा २०÷२५ जनालाई एकै कोठामा कोचेर सम्पर्कमा नआउने, मोवाईल स्वीचअफ गर्ने ठूलो सपना देखाएर युएईको फुल फर्म समेत भन्न नसक्नेहरुलाई मानसिक पीडा दिएर भाग्ने गरेका छन् । 

यसरी युएई आएर बिचल्लि भएका नेपालीका पीडा यहाँका सामाजिक सञ्जालमा दिनहुँ देख्न पाईन्छ । केही जानकारी भएका तथा भनसुन र कामको अनुभव भएकामध्ये केहीले आफ्नो सक्रियतामा काम पाउँछन् भने कतिपय अर्का दलालहरुले यी पीडितहरुको मानवीय संवेदनामा समेत खेलवाड गर्दै काम दिलाईदिने वाहानामा पुनः कमिसन माग्ने गरेका घटनाहरु पनि प्रशस्तै छन् । 

कति त काम पाउने कुरामा तुरुन्त विश्वास गरेर अन्तर्वार्तामा समेत सामेल नभइकनै दलाललाई पैसा दिने र ठगिएपछि सहयोगको याचना गर्नतिर लाग्छन् । यी सबै घटनाको फेहरिस्तबाट युएईको बारेमा पूर्ण जानकारी नभई तथा कामको अनुभव र यहाँको बजारको बारेमा अन्दाज नभई काम गर्ने मनशाय बोकेर पर्यटकीय भिषामा आउनु उपयुक्त हुँदैन । आफूमा कुनै सिप भए र काम खोजेर गर्न सक्छु भन्नेले आउन सक्नुहुन्छ, तर आउनुपूर्व दलाललाई बिनाआधार र प्रमाण पैसा नबुझाउनु होला ।

अब कसरी खोज्ने त दुवईमा काम ?
यदि तपाई आफ्नो आत्मविश्वास बोकेर रोजगार खोज्छु र काम गर्छु भनेर युएई आउने योजनामा हुनुहुन्छ या त केही समयदेखि युएईमै हुनुहुन्छ र काम तथा कम्पनी परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने यो रिपोर्ट तपाईलाई उपयोगी हुनसक्छ । युएईको श्रम कानुनअनुसार कुनै पनि कम्पनीमा तपाईले न्यूनतम २ बर्षको पहिलो करार सकिसक्नु भएको छ भने तपाई आफ्नो योग्यता र अनुभव अनुसारको काम प्रतिस्पर्धाबाट खोजेर कम्पनी परिवर्तन गर्न सक्नुहुन्छ, तर तपाई फ्रि जोन कम्पनी तथा सरकारी स्तरको कम्पनीमा हुनुहुन्छ भने कम्पनी परिवर्तन गर्न २ बर्ष काम गर्नैपर्छ भन्ने छैन । त्यस्तो अवस्थामा तपाईलाई व्यान लाग्दैन जतिबेलै काम खोजेर कम्पनी परिवर्तन गर्न सकिन्छ । 

कम्पनी जतिबेलै परिवर्तन गर्न सकिन्छ भन्दैमा तपाईले आफू आफ्नो जिम्मेवारी र सम्झौतामा कतिको विश्वासिलो हुनुहुन्छ त्यो तपाई आफैँले महशुस गर्ने कुरा हो । 

अव काम कसरी खोज्ने त युएईमा ?

चिनजान तथा साथीभाईको नेटवर्क ।

तपाईको चिनजान तथा साथीभाईलाई आफू उपयुक्त कामको खोजीमा रहेको जानकारी गराउनु भयो भने तपाईलाई महत्वपूर्ण सहयोग मिल्नसक्छ । यहाँका कतिपय कम्पनीहरुले आफ्ना स्टाफबाट रिफर भई आएका जब सिकरलाई पहिलो प्राथमिकतामा राखेर हायर गर्ने गरेका छन् । तर कसैको रिफरेन्समा काम पाउनुभयो भने तपाईले रिफर गर्ने व्यक्तिलाई विश्वासिलो बनाउन कम्पनीमा राम्रो छाप छोड्नुपर्ने हुन्छ । काम पाईसकेपछि तपाईले राम्रो परफमेन्स देखाउन सक्नुभएन भने कम्पनीको आखाँमा तपाई मात्र नभएर तपाइलाई रिफर गर्ने व्यक्ति पनि नराम्रो हुन सक्नुहुन्छ ।

पत्रपत्रिकामा प्रकाशित विज्ञापन 
काम परिवर्तन गर्ने मनशायमा हुनुहुन्छ या त भर्खरै युएई आएर काम खोजिरहनुभएको छ भने काम पाउने अर्को माध्यम भनेको पत्रपत्रिकामा प्रकाशित विज्ञापनहरु पनि हुन् । युएईबाट प्रकाशित हुने गल्फ न्यूज अंग्रेजी दैनिकले दैनिक रुपमै क्लासिफाइड पेज उपलब्ध गराउने गरेको छ । त्यसमा प्रशस्तै कामदार आवश्यकताका विज्ञापनहरु प्रकाशित हुने गरेका छन् । गल्फ न्यूजकै आर्थिक समाचारको पृष्टमा जव भ्याकेन्सी हप्तामा ३ पटकसम्म दिने गरेको छ । त्यसमा हेरेर पनि आफूलाई सुहाउने भ्याकेन्सीमा आवेदन दिन सक्नुहुन्छ । त्यसैगरी अन्य पत्रिकाहरु एक्सप्रेस, सेभेन डेज, गल्फ टाईम्स, खाजिल टाईम्स दैनिक पनि तपाईको सहयोगी बन्न सक्छन् । 

नियमित पत्रपत्रिका हेर्ने गर्नुभयो भने कहाँ कुन नयाँ कम्पनी खुल्दैछ, कुन कम्पनीको ओपन इन्टरभ्यू कहाँ र कहिले छ भन्ने जस्ता कुराको पनि तपाईलाई जानकारी मिल्छ । त्यसरी पत्रिकामा विज्ञापन गर्नेमा कहिलेकाँही डाईरेक्ट कम्पनी मात्र नभएर कन्सल्टेन्सीहरु पनि हुन्छन्, तथापि उनीहरुले तपाईको प्रक्रिया पुर्याएर छनौट गरिदिएबापत कम्पनीबाट कमिसन पाएका हुन्छन र तपाईले उनीहरुलाई कमिसन दिनुपर्दैन । 

डोर टु डोर सर्च 
आफू पूर्ण रुपमा बेरोजगार भइसकेपछि कामको खोजीमा कम्पनीहरुमा चाहार्दै हिँड्ने प्रक्रियालाई डोर टु डोर सर्च भनिएको हो । आफूलाई कामको खाँचो भएकाले भ्याकेन्सी छ या छैन भन्दै कम्पनीहरुमा आफैँ डाईरेक्ट गएर पनि काम खोज्ने प्रक्रियाको थालनी गर्न सकिन्छ, तर यसरी डोर टु डोर सर्चमा जाँदा आफू कस्तो प्रकारको काम गर्न चाहेको हो, के तपाईको कामको अनुभव र त्यो कम्पनीको प्रकृति समान छ ? भन्ने कुराको हेक्का राख्नु अति नै महत्वपूर्ण हुन्छ । तपाईको साथमा आफ्नो योग्यता र अनुभव समेटिएको बायोडाटा लानु उत्तिकै जरुरी हुन्छ । बायोडाटा बोकेर काम खोज्दै हिँड्नेहरुको ठूलो भीड भएको हुँदा त्यो भीडमा तपाई किन र तपाई नै उत्कृष्ट हुनुको कारण के हो भन्ने प्रश्नको उत्तर तपाईसँग हुनुपर्छ । यहाँको धेरै कम्पनीहरु अझै अनलाईन प्रक्रियामा गईनसकेकाले पनि धेरै कम्पनीले डोर टु डोर काम खोज्नेलाई प्राथमिकता दिएर हायर गर्ने हुनाले यो पनि एउटा प्रभावकारी प्रक्रिया मानिन्छ । 

सामाजिक सञ्जाल
युएईमा थुप्रै नेपाली समुदायलाई सहयोगी हुने फेसबुक फेज र ग्रुपहरु छन् जो यहाँ काम गर्ने नेपालीले नै जन्माएका हुन् । नेपाली इन युएई,नेप्लीज कम्युनिटि इन युएई, दुवईमा नेपाली, नेप्लीज इन युएई दुवई जस्ता फेसबुक र ग्रुपहरुमा नेपालीले आफ्नो सम्पर्कमा आएका कामदार रित्तmताका सूचना हाल्ने गरेका छन्, ती सूचनाहरु तपाईलाई सहयोगी बन्न सक्छन् । बिजशालाले यसअघि पनि यिनै ग्रुपमा भेटेको सूचनाका आधारमा फलोअप गर्दै जाँदा काम पाएका नेपालीका नामसहितको उदाहरण प्रस्तुत गरेको थियो । 

माथिकामध्ये नेपाली इन युएई र नेप्लीज इन युएई दुवई नाममा ग्रुप र पेज नयाँ काम खोज्नेलाई निकै उपयोगी हुने गरेका छन् । यस्तो सञ्जालको प्रयोग गरेर तपाई आफूलाई चाहिएको कामको प्रकृति सहितको विवरण पनि विना शुल्क पोष्ट गर्न सक्नुहुन्छ । कसैसँग तपाईले खोजेजस्तो काम भए सहयोगी मनहरुले सहयोग गर्न सक्छन् ।  तथापि यस्तो फेसबुक तथा सामाजिक सञ्जालको प्रयोग गरेरै काम लगाइदिन्छु भनेर नेपालीले नै नेपालीलाई ठगी गर्ने घटनाहरु पनि सार्वजनिक भएका छन् । 

यसो हुनाले यस्तो पोष्टमा भेटेर काम लगाईदिन्छु भन्ने जो कोहिसँग पनि आर्थिक लेनदेनको काम भने गर्नु उपयुक्त देखिँदैन । हालै गैरआवासीय नेपाली सँघ युएईले समेत काम लगाईदिन्छु भन्दै सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने घटनाहरु बढेको भन्दै ठग र दलालहरुसँग सजग रहन युएईबासि नेपालीलाई आग्रह गरेको छ । 

अनलाईन खोज र आवेदन 
२१ औँ शताब्दीको भरपर्दो काम खोजीको माध्यम भनेको अनलाईन नै हो । अहिले युएईमात्र नभएर विश्वका धेरै देशका कम्पनीहरुले सम्पूर्ण कामदारको हायरिङ्ग प्रक्रिया अनलाईनबाट मात्रै गर्न थालेका छन् । कतिपय ठूला कम्पनीले त तपाईले आफ्नो विवरण अनलाईन मार्फत कम्पनीको वेबसाइटमा अपलोड नगरेसम्म हायरिङ्गको कुनै प्रक्रिया गर्दैनन् । यसो हुँदा तपाईले कस्तो प्रकृतिको काम खोजिरहनु भएको छ अथवा कुनै कम्पनीमा तपाईले काम खोज्दै हुनुहुन्छ र तपाईलाई त्यो कम्पनीको नाम थाहा छ भने गुगलको प्रयोग गरेर त्यो कम्पनीको वेबसाइटमा गएर क्यारियर पेजमा जव भ्याकेन्सि खोजी गर्न र अनलाईन आवेदन दिन सक्नुहुन्छ । यदि तपाईलाई इन्टरनेटको बारेमा जानकारी कम छ भने जानकारी भएका साथी तथा ईन्टरनेट क्याफेको सहयोगमा तपाई अनलाईन आवेदन दिन सक्नुहुन्छ । 

युएईमा काम खोज्न सकिने केही प्रख्यात वेबसाइटमा डुविजल, मन्टसर, क्याटेरियर ग्लोवल, नोकरी गल्फ, ईन्डेड, गोटो गल्फ लगायत हुन् । यी वेबसाइटमा तपाईले पहिला तपाईको बायोडाटासहितको विवरण अपलोड गरेर एकाउण्ट बनानुपर्छ । र साइटमा सूचिकृत जव भ्याकेन्सिमा क्रमशः आवेदन दिन सक्नुहुन्छ । आवेदन पाएको कन्फरमेशन पनि तपाईलाई ईमेल मार्फत प्राप्त हुन्छ । कतिपय कम्पनीले त तपाईलाई अन्तर्वार्तामा पनि इमेलमार्फत बोलाउने भएको हुनाले बारम्बार इमेल चेक गर्ने र जवाफ फर्काउने गर्नुपर्छ ।