यूएई । यहाँको एक मनी एक्सचेञ्जबाट पैसा पठाउँदा एक नेपालीले एक किलो सुन उपहार पाएका छन् । 

अल अहलिया एक्सचेञ्जमार्फत पैसा पठाउँदा इलाम ४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको हो। 

लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर, नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन ।

नेपाल पैसा पठाउँदा एक्सचेञ्जलाई दिएको नरेन्द्रको नम्बरमा फोन गर्दा उहासँग सम्पर्क हुन सकेन, हामीले नेपालमा आफन्तसँग सम्पर्क गरिरहेका छौं,’ एक्सचेञ्जका नेपाल प्रमुख बेनीमाधव ढकालले भने ।

गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तर्गत पैसा पठाउनेमध्ये एक जनालाई मेगा ड्र मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको एक्सचेञ्जले जनाएको छ।

आइतबार भएको ड्र मा २ वर्षदेखि युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको रुपमा कार्यरत नरेन्द्रलाई उपहार परेको एक्सचेञ्जले जनाएको छ । 

नरेन्द्रले गएको १२ जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिराम नेपाल पठाएका एक्सचेन्जले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ । उसले वेबसाइटमार्फत पनि नरेन्द्रले एककेजी सुन जितेको जानकारी दिएको छ । 

विदेशबाट ५० ग्राम भन्दा धेरै सुन नेपाल लैजान पाइन्न । तर एक्सचेञ्जले सुनको सट्टा पैसा दिने व्यवस्था गरिएको बताएको छ । 

लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद प्रदान गरिने छ । आइतबारको बजार भाउ अनुसार नरेन्द्रले एक लाख ५० हजार २५० दिराम अथवा ४४ लाख ७८ हजार ९५२ रुपैयाँ पाउनेछन् ।  नरेन्द्रले पाउने रकममा कर लाग्दैन । एक्सचेञ्जले नै व्यहोर्छ ।