काठमाण्डौ । दुुई वाणिज्य बैंकले पौने ५ करोड(४ करोड ७५ लाख) भन्दा बढी कित्ता हकप्रद सेयर जारी गर्ने भएका छन् । 

लक्ष्मी बैंकले ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता र सानिमा बैंकले १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद निश्कासन गर्न लागेका हुुन् । 

यी दुवै बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनमुति दिएको छ । 

सानिमा बैंकलाई फागुन ३० गते र लक्ष्मी बैंकलाई चैत १ गते(मंगलबार) उनीहरुले प्रस्ताव गरे अनुसारको हकप्रद निश्कासनको अनुुमति दिइएको हो । 

लक्ष्मी बैंकले चुक्तापूँजी वृद्धिको उद्देश्यले १ बराबर १ अर्थात एकसयप्रतिशतको दरले हकप्रद निश्कासन गर्नेछ । यो बैंकको गत कात्तिक ७ गते सम्पन्न वार्षिक साधारणसभाले चुक्तापूँजीको सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । यही हिसाबले यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद निश्कासन गर्नेछ। 

हकप्रदको निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई १८.२९ प्रतिशत बोनस सेयर वितरणको घोषणा समेत गरिसकेको छ । यो बोनस हकप्रद निश्कासन गरेपछि वितरण हुने बताइएको छ । हकप्रद र बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ७ अर्ब ४७ करोड बढी पुुग्ने बताइएको छ । 

यसैगरी, सानिमा बैंकले चाहि १० बराबर ३ को अनुपातमा हकप्रद निश्कासनको अनुुमति पाएको हो । यसअनुसार यो बैंकले कुल १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता निश्कासन गर्नेछ । सिबीआइएल क्यापिटल लिमीटेडको सानिमाको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

यो बैंकको हाल चुक्तापूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ। हकप्रद निश्कासनपछि ६ अर्ब ९० करोडको उचाईमा पुुग्नेछ । यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ६२ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ ।