काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै जम्बो बनेको मन्त्रीपरिषदमा चारजनालाई थप्ने निर्णय गरेका छन् । 

उनले पशुपति समशेर जबराको राप्रपा(प्रजातान्त्रिक)लाई समेत सरकारमा सहभागी गराउने निर्णय गर्दै ३ मन्त्री र एक राज्यमन्त्री थपी मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।  

मन्त्रीपरिषदमा ३ मन्त्री र एक राज्यमन्त्री थप गर्ने निर्णय गर्दै सो बिषयमा देउवाले आइतबार नै राष्ट्रपतिको कार्यालयमा जानकारी पठाउन लगाएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ भने सोमबार बिहान ११ बजे हुनेछ । 

देउवा सरकारमा सहभागी हुनैका लागि फूूटेको राप्रपा प्रजातान्त्रिकबाट संसदीय दलका नेता दीपक बोहोराले सरकारमा दलको नेतृत्व गर्नेछन् । उनले विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्नेछन् । यस्तै, सुनिलबहादुर थापा उद्योग  र विक्रम पाण्डे वन मन्त्री बन्नेछन् । रेशम लामा उद्योग राज्यमन्त्रीको रुपमा जानेछन् । 

मन्त्रीपरिषदको औपचारिक बिस्तार तथा मन्त्रीहरुको सपथपछि देउवा नेतृत्वको क्याबिनेट ५४ सदस्यीय हुनेछ । हालसम्म यति ठूलो मन्त्रीपरिषद कहिल्यै गठन भएको थिएन । उनले जम्बो क्याबिनेट बनाएर नयाँ किर्तिमान कायम गरेका हुन् । 

सरकार संचालनमा प्रभावकारी काम गर्न नसकेका देउवाले क्याबिनेट बिस्तारमा भने उदार नीति अपनाउँदै आएका छन् । संविधान संसोधनमा सहज अवस्था बनाउन उनले बढी भन्दा बढी दललाई महत्वपूर्ण मन्त्रालय दिएरै पनि सरकारमा सहभागी गराइरहेका छन् ।